हेटौंडा \ नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ बागमती प्रदेश समितिको दोस्रो अधिवेसन शनिबार हेटौंडामा भएको छ । संघका अध्यक्ष नारायण प्रसाद तिमल्सिनाको सभाध्यक्षता तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको प्रमुख आतिथ्यतामा सभा भएको हो ।
कार्यक्रममा बोल्दै उपसभापति गुरुङले पाठ्यक्रमबाट नैतिक शिक्षा दिनु पर्छ तर यहाँ नेताहरुमा नैतिकता हराइसकेको अवस्था भएको छ । नैतिक शिक्षा अभावले देशमा भष्ट्रचार मौलाउँदै गएको बताउँदै गुरुङले स्थानीय तहबाटै अध्ययन अध्यापनमा सुधार ल्याउन सकेमात्र देशको शैक्षिक सुधार हुने बताए ।
उनले शिक्षा ऐन अड्किएको अवस्थामा आफ्नो पहलमा ल्याउने प्रतिवद्धता जाहेर गरेका छन् । उनले राम्रो सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाई उसलाई अन्य विद्यालयले पछ्याउँदै जाने हो भने शैक्षिक अवस्था राम्रो हुने बताए । प्रत्येक स्थानीय तहमा कम्तिमा १\२ वटा नमुना विद्यालय हुनै पर्छ भनी त्यसतर्फ शिक्षक र स्थानीय तह एक हुनुपर्नेमा जोड दिएका थिए ।
गुरुङले अहिले जुन धनी र गरिबबीचमा शैक्षिक खाडल छ त्यसको अन्त्य हुन सामूदायिक विद्यालयलाई क्रमिक रुपमा नमुना विद्यालय बनाउँदै जानुपर्ने बताए । झण्डा हल्लाउँदै हिड्ने मन्त्रीले काम गर्ने हो उद्घाटन र शिलान्यासमा अल्झिनु हुन्न भन्दै नेता गुरुङले कांग्रेसबाट प्रदेश र संघीयमा जो मन्त्री हुन्छ उसले ६ महिनामा काम गर्न सक्नुभयो भने मन्त्री पद लम्बियो नत्र फिर्ता बोलाइने उद्घोष गरेका छन् । उनले कांग्रेसबाट मन्त्री हुनेलाई ह्याकिङ र प्याकिङ गर्ने छुट नभएको बताए ।
मुलुकमा आर्थिक संकट र राजनितिक संकट रहेको छ । जुन राज्यले बजेट खर्च गर्न नसकेपछि यस्तो अवस्था आएको वक्ताहरुले बताएका छन् । २०४८ को शिक्षा ऐन छ । अब परिवर्तन गरिनुपर्ने आवश्यकता रहेको शिक्षकहरुको माग रहेको छ ।
कार्यक्रममा संघीय सांसद श्यामकुमार घिमिरे, नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्रराज पौडेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव प्रदेश सभाका प्रमुख सचेतक कुन्दनराज काफ्ले, बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, प्रदेश सभा सदस्य रामकुमार पडाही, प्रदेश पार्टी सल्लाहकार जगदिश नरसिंह केसी, प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटा, शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाई लगायतले आफ्नो भनाई राखेका थिए ।
अधिवेसनमा शिक्षकका पेशागत सवालहरुमा बृहत छलफल गरिएको थियो । अधिवेशनमा प्रदेश भरको संघका अध्यक्ष र प्रतिनिधि गरि करिब ४८२ जनाको सहभागिता रहेको छ ।