हेटौंडा \ राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरमा मानव अधिकार सहायक पदमा कार्यरत दयाराम परियारको १६ औं स्मृति दिवसमा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशले स्मृति दिवसमा मानव अधिकार सम्बन्धी समसामायिक विषयमा छलफल गरेको छ ।
हेटौंडामा आयोगको कार्यालयमै कार्यालय प्रमुह सहसचिव यज्ञप्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । परियारको ०६२ चैत्र ११ गते तत्कालीन माओवादीले धनुषा स्थित मुझेलीया प्रहरी चौकीमा आक्रमण गर्दा २ जना प्रहरीको मृत्यु भएको थियो भने उक्त घटनास्थलमा प्रहरीले लापरवाही पूर्वक गोली चलाउँदा राप्रपाका कार्यकर्ता राचन्द्र यादवको घटना स्थलमै मृत्यु भएको थियो । परियारलाइ पनि गोली लागि घाइते भएका थिए । १२ गते सेनाको हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा १४ गते राती निधन भएको थियो ।
हरेक वर्ष उनको नाममा चैत्र १५ गते स्मृति दिवस मनाईदै आइरहेको छ भने ०६८ सालबाट आयोगले स्व. दयाराम स्मृति प्रतिष्ठान गठन गरि प्रत्येक वर्ष एक महिला र एक पुरुषलाई पुरस्कारबाट सम्मान गर्ने गरेको अधिकारीले बताए ।
परियारको चर्चापरिचर्चा सँगै बागमती प्रदेश र मकवानपुरमा भइरहेका मानव अधिकारका विषयमा बृहत छलफल समेत गरिएको थियो । यसैबीचमा तेस्रोलिङ्गीको व्यवहार, बालविवाह, बालश्रम, आत्महत्या, यौन दुव्र्यवहार, पारिवारिक सम्बन्धका विषयमा जोडिएका मानव अधिकार सम्बन्धी छलफल गरिएको थियो । छलफल कार्यक्रममा मानव अधिकार आयोग बागमती प्रदेशका कृष्ण प्रसाद मिश्र, सिविन हेल्पलाइनका झविन्द्र ज्ञवाली, ध्रुव गौतम, गैसस महासंघका अध्यक्ष रमिला सापकोटा, राष्ट्रिय अपाङ्गता महासंघ बागमती प्रदेशका अध्यक्ष आश्विन लम्साल, मानव अधिकारकर्मी शर्मिला श्रेष्ठ, मिरा स्याङ्तान, सञ्चारकर्मी श्रीराम अर्जुन लगायतकाका उपस्थिती रहेको थियो ।
छलफलकै क्रममा बागमती प्रदेश सरकारले ल्याएको निजामति सेवा सम्बन्धी ऐनमा अपाङ्गताको प्रतिशत संघीयमा ५ प्रतिशत रहँदा प्रदेशले ३ प्रतिशत गरेकोमा आपत्ति समेत जनाइएको छ ।
राष्ट्रिय अपाङ्गता महासंघ बागमती प्रदेशका अध्यक्ष आश्विन लम्सालको नेतृत्वमा आजै मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई यस विषयमा ध्यानाकर्षण समेत गराइएको लम्सालले बताए । उनले संघीय ऐन बाझिने गरी प्रदेशले ऐन ल्याउनु गलत हो हामी त्यसको घोर भत्सर्ना गर्छौ र संसोधन नगरे खबरदारी गर्ने बताएका छन् ।