हेटौंडा \ ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा हेटौंडामा बृहत रुपमा सहकारी दिवस मनाइएको छ । बागमती प्रदेश स्तरिय मनाइएको दिवसमा सयौं संख्याका सहकारी र हजारौं संख्याका सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो । विहान प्रभातफेरी गरेसँगै सभामा परिणत भएको थियो ।
६६ औं राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको सभाध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सभामा बोल्दै प्रजिअ पाण्डेले मकवानपुरका सहकारीहरु राम्रो छन् तर बाहिर दर्ता भएर मकवानपुर आएर सेवा दिने सहकारीहरुले बन्द गरेर भाग्नुपरेको अवस्थामा त्यसको असर मकवानपुर सबै सहकारीहरुलाई परेको बताए ।
उनले लोभ र बढि व्याजदरको प्रलोभनमा नपरि आफ्नै नजिक रहेका सहकारीहरुमा बचत गर्न सबैलाई सुझाएका छन् । सहकारीले राम्रो कामहरु पनि गरिरहेका छन् केही सहकारीले नराम्रो काम गरि हाले भने पनि सिंगो सहकारी क्षेत्रलाई असर पुग्ने भएकाले राम्रो कामतर्फ सबै लाग्नु पर्ने बताए । सहकारीले विषेशत गरिबी निवारणको काम गरेर राज्यलाई सहयोग गरिरहेको अवस्थामा सहकारीको दिगोपन र स्वनियमनमा बसेर सुशासनमा रहि काम गर्दा सहकारी क्षेत्रले विकास गति लिने बताए । सदस्य केन्द्रीत र समूदाय प्रति चासो राखेर सहकारीले आर्थिक कारोबारको काम गरिरहेको छ तर पछिल्लो समय सहकारीले गरेको लगानी उत्पादनमा नभई अनुत्पादक क्षेत्रमा भइरहेकाले त्यसलाई रोक्न आवश्यक कदम चालिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सहकारी महाशाखाका रजिष्ट्रार नारायण प्रसाद ज्ञवालीले सहकारीमा आएका विभिन्न चुनौतीहरुलाई समाधान गर्दै थप व्यवस्थित र प्रभावकारी बनाएर अघि बढ्नुपर्ने बताए । उनले सहकारी दिवसले सहकारीमा भएका समस्या, चुनौतीहरुलाई समाधान गर्न प्रेरणा मिल्नुका साथै अभिप्रेरित गरोस भनी दिवस मनाइएको बताए ।
त्यस्तै, मूल समारोह समितिका संयोजक एंव प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाले २०४८/०४९ मा नियमावली आएपछि सहकारी क्षेत्रमा गरेका कामहरु, सहकारी जुन ढङ्गले अघि बढिरहेको छ त्यो कामलाई व्यापक रुपमा सहकारीले कामहरु र सहकारी मार्फत सदस्यलाई विभिन्न उत्पादनशील क्षेत्र,प्रवद्र्धन क्षेत्र र बजारिकरण क्षेत्रमा ठुलो काम गरेको बताए । उनले राज्यले तीन खम्बे अर्थ नीतिको रुपमा सहकारीलाई एक खम्बाको रुपमा लिएको छ । अहिले सहकारी मुमेन्टमा जुन ढङ्गले अघि बढेको अवस्थामा केही न केही समस्या सहकारी क्षेत्रमा रहेता पनि ती समस्यालाई पनि निराकरण गर्दै हामीले अघि बढ्नुपर्छ भन्ने ढङ्गले सहकारी दिवस मनाइएको बताए ।
कार्यक्रममा प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिका बल्लभ सापकोटा, राष्ट्रिय सहकारी महासंघका निवर्तमान सञ्चालक बद्रीप्रसाद लम्साल, प्रदेश बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष कल्पना श्रेष्ठलगायतले सहकारी दिवस लक्षित आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य विदुर हुमागाई, जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी उपरिक्षक बामदेव गौतम, प्रदेश सहकारी संघका सञ्चालक मेनुका दाहाल, प्रदेश कृषि सहकारी संघका उपाध्यक्ष बिमला कार्की, हेटौंडा उपमहानगरपालिका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेल, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंकका प्रवन्धम रामेश्वर आर्याल, नेफ्स्कुन हेटौंडा फिल्ड कार्यालयका इन्चार्ज ज्योती महतलगायतको आतिथ्यता रहेको थियो ।
प्रभातफेरीमा विभिन्न सुचकहरुमा उत्कृष्ट अंक ल्याई चारवटा सहकारी संस्थालाई पुरस्कृत समेत गरिएको थियो । विजयी हुनेमा भीमफेदी-२ मा रहेको महिला एकता साकोस प्रथम, हेटौंडा-११ मा रहेको बागेश्वरी महिला साकोस द्धितीय, हेटौंडा-१३ मा रहेको महिला मिलन साकोस तृतीय र मनहरी-८ मा रहेको साना किसान कृषि सहकारी संस्था सान्त्वना भई पुरस्कृत समेत भएको छ । त्यस्तै, प्रभातफेरीमा विभिन्न झाँकी सहित बाजा बजाउन सहभागि भएकाहलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।
नौमति बाजा ल्याउने साना किसान कृषि सहकारी संस्था मनहरी र चन्द्र सुर्य दुग्ध उत्पादक सहकारी संस्था मकवानपुरगढी ५, खैजडी भजन ल्याउने सुपिङ दुग्ध उत्पादक सहकारी संस्था भीमफेदी र तामाङ भेषभुषाका साथ डम्फु बजाउन ल्याउने महिला मिलन साकोस हेटौंडा १३ लाई प्रमाणपत्र प्रदान गरिएको थियो ।