हेटौंडा \ हेटौंडा उपमहानगरपालिका क्षेत्रका विभिन्न वडामा निर्वाचित भएका महिला जनप्रतिनिधिका लागि नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ ।
हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखाको आयोजनामा सुरु भएको तालिमको उपमहानगरका कार्यवाहक नगरप्रमुख राजेश बानियाँले सोमवार उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै कार्यवाहक नगरप्रमुख बानियाँले तालिमले प्रशिक्षणमा रहेका महिला जनप्रतिनिधीको नेतृत्व तथा क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले यस्ता तालिमले भोलिका दिनमा सामाजिक नेतृत्वका हिसाबले अघि बढ्न मद्दत पुग्ने बताए ।
सामाजिक विकास समितिमा संयोजक तथा हेटौंडा १६ का अध्यक्ष रामकृष्ण कोइरालाको अध्यक्षतामा भएको तालिममा हेटौंडा २ का वडा अध्यक्ष विष्णुगोपाल मर्हजन, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने लगाएतको आतिथ्यता रहेको थियो ।
१९ वडामा निर्वाचित महिला जनप्रतिनिधीहरुको सहभागिता रहेको तालिम ५ दिन सम्म हेटौंडाको गैरसरकारी सस्था महासंघको हलमा सञ्चालन हुने छ । तालिममा सहभागितालाई प्रमुख प्रशिक्षक सोनालाल चौधरी, सहायक प्रशिक्षक अशोक कुमार कामतीले सहजिकरण गर्ने छन् ।
तालिममा भाषणकला, उद्घोषण कला, जनतालाई वडाबाट दिने सुविधाक्रममा अवलम्बन गर्ने स्वभाव, व्यवहार, वडामा हुने योजना तर्जुमा र कार्यान्वयन सहित व्यक्तीत्व विकासका लागि आवश्यक विषयका बारेमा बाहिबाट आएका प्रशिक्षकले सहजीकरण गर्ने बताइएको छ ।
त्यस्तै तालिमका क्रममा हेटौंडा उपमहानगरका विभिन्न महाशाखा र शाखाले दिने सेवा र तिनका प्रकृयाका बारेमा महाशाखा तथा शाखा प्रमुखले सहजिकरण गर्ने महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले जानकारी दिइन् ।