हेटौंडा \ हेटौंडामा शनिबार हेटौंडा कोरा साइकलिङ भएको छ । हेटौंडा राइडर्स क्लबको आयोजनामा भएको हेटौंडा कोरा साइकलिङ २०२२ को हेटौंडा उपमहानगर वडा नम्बर २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनले उद्घाटन गरेका थिए ।
हेटौंडाको भुटनदेवी मन्दिरबाट सुरु भई फरेष्ट्रि कर्रा गुम्बा हुदैं कमलडाँडा, पशुपति मन्दिर, हुप्रचौर, परिजातपथ हुदैं कान्तिराजपथ, बुद्धचोक, वन कार्यालय, जलेश्वर मन्दिर, वनस्खण्डी, मनकामना चोक, सानोपोखरा, पिप्लेबाट हेटौंडा रिसोर्ट हुदैं कोरा चौघडा पुगेको थियो । राइडर्सलाई हेटौंडा ७ का वडा अध्यक्ष दामोदर गौतम तथा निवर्तमान मेयर हरिबहादुर महतले न्युरेनीमा स्वागत गरेका थिए ।
स्वागत सँगै राइडर्स टोली चौघडाबाट चुच्चेखोला, राजदेवी, फुर्केचौर गुम्बाडाँडामा पुगेर खाना खाने कार्यक्रम तथा प्रत्यक्ष साँस्कृतिक कार्यक्रममा सरिक भएका थिए । त्यसपछि हटिया, कमाने हुदैं औद्योगिक क्षेत्रबाट हेटौंडाको बुद्धचोकमा आइ हेटौंडा कोरा साइकलिङ कार्यक्रम सम्पन्न हुने तालिका रहेको छ ।
धार्मिक तथा पर्यटकीय क्षेत्रको परिक्रमा गर्दै क्लबका अध्यक्ष विकास ताम्राकारले ५० किलोमिटर हेटौंडा कोरा साइकलिङमा करिब २ सय भन्दा बढी राइडर्सले उत्साहजनक रुपमा सहभागिता जनाएको बताए । कार्यक्रममा बारा, पर्सा, काठमाडौं र मकवानपुरका राइडर्सहरुको सहभागिता रहेको थियो ।