हेटौंडा \ हेटौंडा २ बुद्धचोकमा रहेको ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं स्थापना दिवसमा विद्यार्थीहरुलाई व्याग वितरण गरिएको छ । संस्थाको कार्यालयमा औपचारिक कार्यक्रम गर्दै हेटौंडा १२(साविक पदमपोखरी—५ सिग्रेनी) मा रहेको प्रतिभा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई व्याग वितरण गरिएको थियो ।
संस्थाका अध्यक्ष प्रतिमा श्रेष्ठको सभाध्यक्षता तथा प्रदेश सकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । २४ वटा दीपप्रज्वलन गरि स्थापना दिवस मनाइएको थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष देवकोटाले सहकारीको प्रगतिको कामना गर्दै सदस्यहरुको हितमा काम गर्न आग्रह गरेका छन् । उनले नीति, विधि र सहकारीको विधानमा रहेर काम गरिनुपर्छ अवश्यनै सफलता हात पर्ने बताए ।
सहकारीमा आउने चुनौतीलाई सामना गर्दै अघि बढ्नुपर्छ, अहिले आर्थिक मन्दीको शिकार सहकारी पनि परेकाले संयमित भई काम गर्न आग्रह गर्दै उपाध्यक्ष देवकोटाले बचत तथा ऋणको कारोबार मात्रै नभई अन्य सेवा पनि प्रदान गर्न सहकारीलाई आग्रह गरेका छन् । उनले सहकारीबाट नातेदार भनी कर्जा लगानी नर्गन सुझाएका छन् । ऋण लगानी गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने देखिन्छ । पछिल्लो समय सयौं सहकारी संस्था पैसा उठाउन नसकेर सिबिआईमा गएकाछन् ।
कार्यक्रममा मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंकका प्रवन्धक रामेश्वर अर्याल, संस्थाका संस्थापक अध्यक्ष कृष्णप्रसाद पुडासैनी, पूर्व अध्यक्ष पूर्णप्रसाद पुडासैनी, मउवा संघका सदस्य तेजप्रसाद अधिकारी लगायतले सहकारी संस्थाको प्रगति उन्नतीको कामनाका साथ शुभकामना भनाइ राखेका थिए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष राजेन्द्र प्रसाद पुडासैनी, पूर्व व्यवस्थापक नानीराम अर्याल, व्यवस्थापक पुष्पा क्षेत्री लगायत संचारकर्मीहरुको आतिथ्यता रहेको थियो । संस्थामा भएको दीपप्रज्वलन कार्यक्रम पश्चात संस्था स्थापना भएको साविक पदमपोखरी ५ सिग्रेनीमा विद्यालयमा ५५ जना विद्यार्थीहरुलाई व्याग वितरण गरिएको संस्थाका अध्यक्ष प्रतिमा श्रेष्ठले बताइन् ।
सहकारीमा हाल सम्म एक हजार ८०८ शेयर सदस्य रहेका छन् भने ११ करोड ७२ लाख ६५ हजार आफ्ना शेयर सदस्यलाई कर्जा लगानी गरेको छ । २ करोड ३१ लाख २० हजार ४०० शेयरपुँजी रहेको सहकारीमा ४ करोड २२ लाख २७ हजार ९०१ बचत निक्षेप रहेको छ ।