काठमाडौं \ आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाका तीन वटा क्षेत्रको उपनिर्वाचनका लागि शुक्रबारदेखि आचार संहिता लागू भएको छ । चितवन २, बारा २ र तनहुँ १ मा शुक्रबारबाट उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।
आनयोगका अनुसार उपनिर्वाचन हुने चितवन, बारा र तनहुँमा नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्तिलगायतलाई आचारसंहिता लागू हुने छ ।
आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न गराउन आवश्यक व्यवस्था मिलाउन तीनवटै जिल्लाका जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिइएको छ । आगामी वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ । आयोगले तीन निर्वाचन क्षेत्रको उपनिर्वाचनका लागि ६५ जनाको उम्मेदवार कायम भएको जनाएको छ ।
बारा र चितवनमा दुई दुई जना उम्मेदवारले नाम फिर्ता लिएपछि ६५ जनाको उम्मेदवारी कायम भएको हो ।
आयोगले बिहीबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्दै उनीहरुलाई निर्वाचन चिन्ह समेत प्रदान गरेको छ । चुनाव चिन्ह प्रदान गरेसँगै उम्मेदवारहरुको घरदैलो लगायतका प्रचार पनि सुरू भएको छ ।