हेटौंडा \ सोमबार हेटौडामा एउटा पसल उदघाटन गर्न बागमती प्रदेशका मुख्यमन्त्री सहित तीन मन्त्री लाईन लस्कर लागेर पुगेका छन् । संघीयता घाडो भयो भन्ने चर्को आलोचना भइरहदा काम नै नपाएर एउटा पसल उदघाटनका लागि यति धेरै मन्त्रीहरु पुग्नु हाँस्यसपद भएको तर्क नागरिकले गरेका छन ।
हेटौडा-११ थानाभ¥याङ्गमा अवस्थित हजुरलाई नमस्ते ट्रेड लिंक प्रालि नामक हेटौंडा शाखाको पसल उद्घाटन गर्न यसरी प्रदेशका मन्त्रीहरु सहभागी हुनुले मन्त्रीका सचिवालय र उनीहरुको व्यस्तता कति रहेछ भन्ने प्रष्ट हुन्छ । कार्यक्रममा सहभागी हुनु नराम्रो होईन तर यो समयमा एक मन्त्री पुग्ने ठाउँमा तीन/तीन जना मुख्यमन्त्री तथा मन्त्रीहरु पुग्नु आश्चार्य हो । यसले कामै नपाएको भान जनतामा जानेछ । यसैले पनि मन्त्रीहरुले कस्तो कार्यक्रममा जाने भन्ने कुरा ख्याल गर्नु जरुरी देखिन्छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित सोमबार मात्रै मन्त्री पदमा नियुक्त हुनुभएका प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री युवराज दुलाल, नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका सचेतक तथा प्रदेशका निवर्तमान युवा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल पनि पसल उद्घाटनमा पुगेका थिए ।
हजुरलाई नमस्ते ट्रेड लिंकका प्रवन्धक निर्देशक ताराबहादुर कुँवरको आग्रहमा मन्त्रीहरु उद्घाटनमा गएको बुझिएको छ । तर सहभागी व्यवसायीहरुले मन्त्रीहरु यति सानो कार्यक्रममा सहभागी हुनुले मर्यदामाथि प्रश्न उठेको बताएकाछन् । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कार्यालय उद्घाटन गरेका थिए भने अन्य मन्त्रीहरुले ताली बजाएर व्यवसायी सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा मन्त्रीहरु मात्र होईनन् मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, मकवानपुर प्रहरी प्रमुख बामदेव गौतम, हेटौंडा ११ नम्वर वडा अध्यक्ष जुना दहाल, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कडेँललगाएतको सहभागीता रहेको थियो ।
सोमबार मात्रै बागमती प्रदेशको मन्त्रीमा नियुक्त भएका बहादुर सिं लामालाई कार्यक्रममा सम्मान गरीएको थियो । चार जिल्लाका डिजर र ह्याप्पी मेकानिक्सलाई पनि सम्मान गरेको थियो ।
हजुरलाई नमस्ते ट्रेड लिंकका प्रवन्धक निर्देशक कुँवरले मकवानपुरको व्यवसायीहरुको सुविधाको लागि ट्रेड लिंकको शाखा हेटौंडामा विस्तार गरेको बताए । नमस्ते ट्रेड लिंकले निर्माण र हेभी उपकरणको सामानहरु विक्री वितरण गर्दै आइरहेको छ । नमस्ते ट्रेड लिंक जिपी र आइटीआर लुव्रिकेन्टको नेपालको लागि आधिकारीक विक्रेता पनि हो ।