मृगौला सम्बन्धि रोगबाट पीडित रामकृष्ण चेपाङ बचाउ अभियानका लागी रकम संकलनार्थ नेपाली चलचित्र बुलाकीको च्यारेटी गरीने भएको छ । सामाजिक एवम् राजनीतिक व्यक्तित्वका रुपमा परिचित चेपाङ राक्सिराङ गाउँपालिका वडा नम्बर ८ का निवर्तमान वडा अध्यक्ष समेत हुन । उनी करिब एक वर्षदेखि मृगौला सम्बन्धि रोगबाट पीडित छन् । चेपाङको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकोले मृगौला ट्रान्सप्लान्ट गर्न नसकिरहेको अवस्थामा उनको सहयोगार्थका लागी बिहिबार चलचित्र बुलाकी च्यारेटी गरीन लागेको रामकृष्ण चेपाङ बचाउ अभियानका संयोजक शंकर न्यौपानेले बताएका छन् ।
उहाँको जीवन रक्षाका लागि नेपाली कांग्रेसका नेता रघुरमण न्यौपाने,आनन्दराम पराजुली, ईश्वर पाठक, ईन्द्रकुमार बर्तौला, उत्सव इटेनी, सुरेश थापा, सुशान्त श्रेष्ठ, नुरज पौडेल, गोपी दाहाल, सुरज बर्तौला लगायतको सक्रियतामा चेपाङ बचाउ अभियान सुरु भएको बताईएको छ । बुधबार हेटौडामा आयोजित पत्रकार सम्मेलनमा संयोजक न्यौपानेले रकम संकलनका लागी नेपाली चलचित्र बुलाकीको च्यारेटी प्रर्दशन गर्न लागेको बताएका हुन् ।
च्यारेटीका लागी चलचित्र सहजीकरण र सहयोगी भूमिकामा कांग्रेसका क्षेत्रीय सभापति सुशान्त श्रेष्ठले गरेको बताईएको छ । आगामी बैशाख एक गतेबाट देशैभर प्रर्दशनमा आउन लागेको यो चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका छन । चैत्र ३० गते दिउसो साढे दुई बजे ओम्याक्स सिनेमा हलमा चलचित्र प्रर्दशन हुने जनाईएको छ । एक हजार र दुई हजार दरका टिकट लिएर प्रर्दशन गरीन लागेको चलचित्र हेर्न आउन आयोजकले अनुरोध समेत गरेको छ । चेपाङ बचाउ अभियानमा सकेको सहयोग गर्न सबै हेटौडाबासीहरुमा संयोजक न्यौपानेले अनुरोध गरेका छन।
च्यारेटीबाट उठेको रकम बिरामी चेपाङको उपाचारमा खर्च गरीने संयोजक न्यौपानेले बताए । चेपाङको उपचारका लागी करीब दश लाख रुपैयाँ खर्च हुने समेत बताईएको छ । पत्रकार सम्मेलनमा बिरामी चेपाङले आफनो लागी साथीभाईको यो सहयोगका लागी आभार व्यक्त समेत गरेकाछन् । यो सहयोगले आफुले नयाँ जीवन पाउने अपेच्छा समेत उनले गरेका छन् ।
यो चलचित्र कर्णाली भेगको जनजीवन र प्रथामा आधारित रहेको बताईएको छ । चलचित्रलाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन भने यो चलचित्र नारीप्रधान कथानक चलचित्रका रुपमा चर्चामा छ । नयाँ वर्ष अर्थात् ०८० बैशाख १ गते प्रदर्शन हुने भएको छ ।चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त र विराज विष्टका साथमा रमेश बुढाथोकी, प्रकाश कंडेल, कुलदीप अधिकारी, सुशील पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाई, सरस्वती खत्रीले अभिनय गरेका छन् ।