कैलाश \ तामाङ र चेपाङ समूदायको बाहुल्यता रहेको मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकामा ग्रामीण आँखा केन्द्र सञ्चालनको सुरुवात भएको छ । बुधबार एक कार्यक्रमकाबीच ग्रामीण आँखा केन्द्रको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानले ग्रामीण भेगका नागरिकले सहज रुपमा आँखा परिक्षण र उपचार पाउने बताए । पालिकामा नै आँखा उपचार पाउने पहुँच पुग्ने हिसाबले केन्द्र सञ्चालनमा ल्याइएको बताए ।
आँखा पाकेर त्यतिकै बसेको अवस्थामा गाउँबासीहरु रहेकाले छिट्टै नै हेटौंडा सामूदायिक अस्पतालसँगको सहकार्यमा सञ्चालनमा ल्याउन सफल भएको बताए । उनले ग्रामीण भेगमा खाना पकाउँदा दाउरा प्रयोग गरिने हुँदा धुँवाका कारण सानै उमेर देखी आँखामा कमजोर हुने देखी मोतिविन्दु सम्म हुने अवस्था थियो । तर उपचार नगरि गाउँघरमै बस्ने गरिन्थ्यो अब भने घरछेउमै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएपछि स्थानीयहरुलाई धेरै नै राहत मिलेको बताएका छन् ।
यहाँ नहुने उपचार हेटौंडामा सहज रुपमा उपचारका लागि गाउँपालिकाले आवश्यक पहल गरिदिने प्रतिवद्धता जाहेर गर्दै अध्यक्ष मोक्तानले बैशाख महिनाभरमा वडावडामा आँखा शिविर गरि आँखा सम्बन्धी उपचारमा गाउँबासीलाई सेवा दिने बताएका छन् ।
कार्यक्रममा हेटौंडा सामूदायिक आँखा अस्पतालका डाक्टर मोहन कृष्ण श्रेष्ठले हाम्रो सानो प्रयासले पालिकाक्षेत्रमै सेवा पुग्ने विश्वास लिएको बताए । उनले हाम्रो सेवा निरन्तर रहि रहने र केन्द्रलाई आवश्यक उपकरण र औषधि सहयोग गरिने बताएका थिए । विकट गाउँमा केन्द्र सञ्चालनपछि टाढाटाढाका नागरिकहरुलाई वडावडामा सेवा प्रदान गर्न सकियो भने यसले थप महत्व राख्ने बताए । दृष्टि क्षमता कम भएकोले समयमा नै उपचार गराउन सकियो भने मोतिविन्दु हुनबाट जोगाउन सकिन्छ । उनले मोतिविन्दु भएकाहरुको निशुल्क शल्यक्रिया समेत गरिने बताए ।
वडा नम्बर ३ का वडा अध्यक्ष देवलाल वलको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, हेटौंडा सामूदायिक आँखा अस्पतालका प्रशासन प्रमुख सुधिरभद्र श्रेष्ठ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक श्रेष्ठ, डा. सन्तोष साहलगायतको आतिथ्यता रहेको थियो ।
ग्रामीण आँखा केन्द्र उद्घाटनसँगै आँखा शिविर समेत गरिएको थियो । शिविरमा १८६ जनाको परिक्षण गर्दा २१ जनामा मोतिविन्दु भएको र उनीहरुको थप अस्पतालबाटै उपचार गरिने अस्पतालका प्रशासन प्रमुख श्रेष्ठले बताए ।
आँखा शिविरमा मोतियाविन्दु भएका विरामीहरुलाई बैशाख ४ गते सोमबार गाउँपालिकाले आँखा अस्पताल सम्म लैजाने व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ । कोरियन संस्था होण्डाई फाउण्डेसनको सहयोग, हेटौंडा सामूदायिक आँखा अस्पतालको सहकार्यमा गाउँपालिकाले उक्त केन्द्र सञ्चालनमा ल्याएको हो । इकुमेन्ट सहित केन्द्र सञ्चालनमा करिब ५० लाख लगानी भएको अस्पतालका प्रशासन प्रमुख श्रेष्ठले बताए ।
अस्पतालको सहकार्यमा मकवानपुरका बागमती गाउँपालिका, थाहानगरपालिका, मनहरी गाउँपालिकामा केन्द्र सञ्चालनमै ल्याइसकेको श्रेष्ठले बताए । उनले इन्द्रसरोवर र बकैयामा पनि सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । केन्द्रमा गाउँपालिकाले नै दरबन्दी आह्वान गरि कर्मचारी राखेको छ । ग्रामीण आँखा केन्द्रमा एक जना नेत्र सहायक र एक जना कार्यालय सहयोगी राखिएको गाउँपालिकाले जनाएको छ । उनीहरुको सम्पूर्ण तलब भत्ता खर्च पालिकाले नै गर्नेगरि राखिएको हो ।