अमलाले बोलिन् गजलमार्फत
आवाजबिहीनहरुका आवाज अब निदाउँ कालेका बा सपना देख्नुपर्छ
यो तितो विपनालाई एकछिन लखेट्नुपर्छ
खुन बेचेर नुन किन्यौ आँखा कमजोर भए यदि चश्मा किन्नुपरे आँखा बेच्नुपर्छ
मुटु बधशालामा आँखा सिमानामा राखिदिनु
त्यसपछि मात्र यो शरीरलाई चितामा राखिदिनु
हामी कारखानामै सिध्याइदिन्छौँ रगत र पसिना
सरकार हाम्रा नानीहरुलाई पाठशालामा राखिदिनु
मलाई दूर बस्नु छ प्यारको असरबाट
तिमी दूर गइदेउ यी मेरा नजरबाट
मेरो धान फल्ने खेतमा मोटर गुडेको छ
चामल ओसार्नु छ मोटरमा सहरबाट
माथिका गजलकार शेरहरु युवा पुस्ताकी चर्चित गजलकार अमला अधिकारीका हुन् । गजल मञ्च मकवानपुरको निमन्त्रणमा शनिबार हेटौँडा आएकी अधिकारीले माथिका शेरहरुसहित करिब डेढ दर्जन गजल वाचन गर्दा शेर नै पिच्छे तालीको गुन्जहाट भएको थियो ।
गजल मञ्च मकवानपुरको १९ औँ वार्षिकोत्सव तथा २०१ औँ गजल यात्रामा गजलकार अमला अधिकारी एकल गजल वाचन गरिएको छ । सरल र सहज भाषामा ग्रामीण जनजीवन, परिवेश र पछाडि पारिएका वर्गको आवाजलाई बोल्ने गजलकार अधिकारीले वाचन गरेका गजलहरुमाथि समीक्षासमेत गरिएको थियो । कार्यक्रममा वाचित गजलहरुमाथि समीक्षक घनश्याम घिमिरेले विचार, भाव र संरचना पक्षको बारेमा समालोचना गरेका थिए ।
समीक्षक घिमिरेले अमलाका गजलहरुले आवाजबिहीनहरुका आवाजहरु बोलेको बताए । ग्रामीण परिवेश, भोगाई, विपन्न र निमुखाका जीवन भोगाईका विविध पाटाहरुलाई गजलमा सुन्दर तरिकाले प्रस्तुत गरिएको भन्दै घिमिरेले गजलकारको प्रसंशा गरेका थिए । शिक्षण पेशामा आवद्ध सर्लाही स्थायी निवासी अधिकारीका ४ वटा गजल सङ्ग्रह र एउटा उपन्यास प्रकाशित भइसकेको छ । उनको ‘अमला’, ‘आगो’, ‘आरन’ र ‘आश्रम’ गजल सङ्ग्रह हो भने ‘आलय’ उपन्यास कृति हो ।
कार्यक्रमकैबीच गजल मञ्च मकवानपुरले अधिकारीलाई गजल श्रष्टा सम्मानसमेत प्रदान गरेको छ । गजलको उन्नयन, विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै अधिकारीलाई गजल सम्मान २०८० प्रदान गरिएको हो । उक्त सम्मान मञ्चले यसअघि निमेष निखिल, धनराज गिरी, रवि प्राञ्जल, बुँद राना, ज्ञानुवाकर पौडेल, डा। घनश्याम न्यौपाने ‘परिश्रमी’, र श्याम न्यौपानेलाई प्रदान गरिसकेको छ ।
कार्यक्रममा साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने र गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष दीपक गौतमले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मञ्चका अध्यक्ष केशव समर्पणको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो ।