हेटौंडा \ चाँदनी टोल विकास संस्थाको १५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शारदा ढुँगानाको सभाध्यक्षतामा भएको साधारणसभाको उद्घाटन गर्दै हेटौंडा–२ का वडाअध्यक्ष विष्णुगोपाल महर्जनले टोलविकास संस्थामा आवद्ध टोलबासीको सक्रियता जरुरी रहेको बताए ।
साधारणसभामा संस्थाकी सचिव गीतादेवी पौडेलले सचिवको प्रतिवेदन र कोषाध्यक्ष सृजना पण्डितले आयव्यय विवरण प्रस्तुत गरेका थिए । वार्षिक साधारणसभामा उत्कृष्ठ बचतकर्ता तर्फ साबित्री खरेल, पूजा लामा, उत्कृष्ठ लगानीकर्ता (ऋणी) मधु शाह, जेष्ठ नागरिक पद्मादेवी खरेल, सुभद्रादेवी पण्डित, भगवती सुबेदी, भागीरथी पण्डितलाई वडाअध्यक्ष महर्जनले सम्मानित गरेका थिए ।
मानसचोक आसपासका ६० घरपरिवारका एक सय जना सदस्य चाँदनी टोलविकास संस्थामा आवद्ध भएको र टोलबासीको आवश्यकताअनुसार काम गरिरहेको संस्थाकी अध्यक्ष शारदा पौडेलले बताइन् । संस्थाले मासिक बचत तथा ऋण लगानी पनि गर्दै आएको छ ।
संस्थाले ३७ लाख रुपैयाँ बचत तथा २५ लाख रुपैयाँ ऋण लगानी गरिरहेको छ । टोलविकास संस्था नगर समन्वय समितिका सहसचिव चन्द्रावती पनेरु अधिकारी, भुगोल तर्फका ईन्चार्ज राजदेव बानियाँ, वडा समन्वय समिति अध्यक्ष मनिषा घले, हेटौंडा उपमहानगरपालिका सामाजिक विकास अधिकृत भीमप्रसाद तिमल्सिना, बालक्लव अध्यक्ष समृद्धि पौडेल, चाँदनी टोलविकास संस्थाकी सल्लाहकार सृजना पण्डित लगायतले मन्तव्य व्यक्त गरेका थिए ।