हेटौंडा \ राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघमा आवद्ध रहेको राष्ट्रिय प्रजातान्त्रिक यातायात मजुदर संघ नेपाल मकवानपुरले आफ्ना मागहरु पुरा नभएको भन्दै चरणवद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजानिक गरेको छ । संघले मंगलबार पत्रकार सम्मेलन गर्दै बुधबारबाट हुने पाँच दिने आन्दोलनका कार्यक्रमहरु सार्वजानिक गरिएको हो ।
संघका केन्द्रीय सदस्य समेत रहेका मकवानपुरका सचिव दिनेश लामाले आन्दोलनका कार्यक्रमहरु सार्वजानिक गरेका हुन् । संघका अध्यक्ष काजिमान तितुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ मकवानपुर अध्यक्ष रामहरि खतिवडा, संघका सल्लाहकार रामप्रसाद कोइरालाको उपस्थिती रहेको थियो ।
उनीहरुले बैशाख ६ गते विरोध स्वरुप बजारको मुख्यचोकमा कालो व्यानर राख्ने, सवारी साधानमा कालो झण्डा राख्नुका साथै बागमती प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र पेश गर्ने कार्यक्रम रहेको अध्यक्ष तितुङले बताए । त्यस्तै, ७ गते विषयगत समस्याको सम्बन्धमा राजनितिक दल, नागरिक समाज, वृद्धिजिवी, व्यवसायी, कानुनी व्यवसायी, सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रम रहने, ८ गते समस्या र मागहरुको सम्बन्धमा प्ले कार्ड र नारा सहित हेटौंडा नगर क्षेत्रमा ¥याली सहित विरोध प्रदर्शन गरि कोण सभा गर्ने रहेको बताए ।
९ गते शनिबार भने अटो मजदुरबीच सामूहिक छलफल गरिने छ भने १० गते हेटौंडा उपमहानगरपालिकामा नियमित शान्तिपूर्ण धर्ना कार्यक्रम करिब ८ घण्टा गरिने अध्यक्ष तितुङले बताए । ११ गते माग पुरा नभए संघले मकवानपुर जिल्ला बन्द आह्वान गरिने कार्यक्रम रहेको बताएका छन् ।
हामीले रहरले नभई बाध्यताले आन्दोलन गर्नु परेको बताउँदै तितुङले भने, ट्राफिकको ज्याजती बढ्यो स्टिकरको नाममा २०७६ पुष ६ गते अघिका सबै अटो रिक्साले स्टिकर पाउनुपर्यो । स्टिकरको नाममा मनलाग्दी चिट काट्ने गरेकाले स्टिकर बाहेकका सबै कागजपत्र भएका अटो मयुरीलाई छोड्नुपर्ने माग हाम्रो रहेको तितुङले बताए । नगरपालिकाले हुन्छ दिन्छु भन्दा पनि ट्राफिकले हुदैंन भनेर रोकिएकाले यो समस्या उत्पन्न भएको हो । हाम्रो नगरपालिकालाई पेश गरिएको डाटामा करिब २८० अटो मयुरी रहेको अध्यक्षको भनाई रहेको छ ।
राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ मकवानपुर अध्यक्ष रामहरि खतिवडाले हाम्रो मागलाई सम्बोधन नभए ११ गते मात्र होइन महिनौ मकवानपुर बन्द गर्ने चेताउनी दिएका छन् । ब्लुबुक, रोडपरमिट, लाइसेन्स जस्ता सबै कागजपत्र भएर पनि ट्राफिकले चिट काटेर कमाएको पैसा बुझाउनै ठिक्क भएको बताए । माग सम्बोधन नभए आन्दोलनलाई शसक्त बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
ट्राफिक प्रहरीले धेरै नै दुःख दिएको बताउँदै एक अटो चालक मजदुरले जहाँ भेट्यो त्यहीँ कारवाही गर भनेको छ भन्दै चिट काट्ने गरेको दुखेसो पोखे । बजारमा डेरा छ, दिनभर बजार बाहिर अटो चलाएर खाना खान र बास बस्न आउँदा ट्राफिकले समात्छ र दिनभरको कमाईको बुझाउँन हामी बाध्य भएको बताए । अब हामी के खाने, बालबच्चा कसरी पढाउने, परिवार कसरी पाल्ने ? कहिले त दिनकै २ पटक सम्म चिट काटिदिने समेत गरेको गुनासो पोखेका छन् । हामी सोझासाझा अटो चालक मजदुरलाई धेरै नै समस्या रहेको बताए । मजदुरहरुले राज्यले जिल्लाभर चल्न दिने, रोडपरमिट पनि दिने, राजश्व लिने अनि ट्राफिक प्रहरी भने त्यो चोक यो चोक नआउनु भन्दै हामीलाई लखेट्नु कति सम्मको ज्याजती हो भनी बताएका छन् । मयुरी अटो मात्र नभई ट्रक टिफरहरुमा पनि धेरैनै दुख दिएको आरोप लगाएका छन् ।
सातदिने कार्यक्रम सके पछि भोलीबाट पाँच दिने कार्यक्रमहरु गरिन लागेको संघका सचिव दिनेश लामाले बताए । हाम्रो समस्या स्टिकरको हो । छिट्टै स्टिकर वितरण गरे समस्याको समाधान हुने उनले बताए । नगरपालिकाले ०७६ पुस ६ अघिका दर्ता भएकालाई स्टिकर दिने भनेता पनि सबैलाई नदिएकाले हामीले आन्दोलन गर्नुपरेको लामाले बताए ।