हेटौंडा \ बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशभित्रका हेमोफिलियाका विरामीहरुका लागि एन्टी हेमोफिलियक फ्याक्टर हस्तान्तरण गरेको छ । मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको आयोजनामा आइतबार भएको एक कार्यक्रममा स्वास्थ्य मन्त्री निमा लामाले हेमोफिलिया सोसाइटी नेपालका अध्यक्ष मुकुन्दमणि घिमिरेलाई हेमोफिलियक फ्याक्टर हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री लामाले बागमती प्रदेश सरकारबाट प्राप्त सहयोगको औषधी होमोफिलियाका बिरामीका लागि सर्वसुलभ रुपमा उपलव्ध गराउन हेमोफिलिया सोसाइटीलाई आग्रह गरेका छन् । उनले प्रदेश सरकार यस्तै खाले अन्य रोगका विरामीहरुको लागि औषधी र उपचारको व्यवस्था गर्न प्रतिवद्ध रहेको बताए ।
उनले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले औषधी एवं उपकरण र औषधी खरिदका लागि बजेट विनियोजन गरिसकेकाले खरिद प्रकृया अघि बढाइएको समेत बताएका थिए । उनले विद्यालय नर्स कार्यक्रममा पनि यस्ता रोगबारे जानकारी गराउनुका साथै त्यस्ता विरामीहरु पत्ता लगाउन आग्रह गरिने बताए । गत वर्ष पनि औषधि उपलब्ध गराएको र यस वर्ष अनि आगामी वर्षका लागि पनि आवश्यक बजेट राखिएको बताएका छन् ।
आपूर्ति केन्द्रबाट सोसाइटीलाई १ हजार १३० भाइल औषधी उपलव्ध गराएको आपूर्ति केन्द्रका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले जानकारी दिए । हस्तान्तरण गरेको औषधीको मूल्य करिब एक करोड रुपैंया रहेको जनाईएको छ । देशभर हेमोफिलियाका ७ सय ८० र बागमती प्रदेशमा २० महिलासहित २ सय ५० जना विरामी रहेको सोसाइटीका अध्यक्ष घिमिरेले बताए । औषधी अभावमा गत वर्ष ४ जनाको मृत्यु भएको र केहि दिन अघि ३ वर्षे बालकले ज्यान गुमाउनुपेको उनले बताए ।
नेपालभर तीन हजार भन्दाबढी यस रोगका विरामी रहेको अनुमान सोसाइटीले गरेको बताउदैं तौल र केश अनुसार औषधिको मात्रा प्रयोग गर्नुपर्ने हुनाए यस भाइलले पनि नपुग्ने बताए । गतवर्ष १० लाख ५० हजार मात्रा प्रयोग गरिएको थियो यस वर्ष झन विरामी बढ्दोक्रममा रहेको उनले बताए ।
विगत लामो समयदेखी बाहिरी देशका डोनरहरुले केही मात्रामा औषधि उपलब्ध गराएपनि पछिल्लो वर्षदेखी संघीय र प्रदेशका सरकारले खरिद प्रक्रिया अगाडी बढाएर उपलब्ध गराइरहेको अध्यक्ष घिमिरेले बताए । विरामीले सहजै फार्मेसीमा नपाइने, औषधिको मुल्य धेरै हुनु, सरकारले आवश्यक भन्दा कम उपलब्ध गराउनुले हाम्रा विरामी साथीहरु अकालमै गुमाउनुपरेको गुनासो राखेका थिए । उनले यस्तो रोग वंशाणुगत ७० र पोषणका कारण ३० प्रतिशत रोग लागने सम्भावना रहने बताए ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य निर्देशक शम्भु काफ्ले, सोसाइटीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।