हेटौंडा \ मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुर(म्यान)ले वार्षिक कार्यक्रम अन्तरगत शनिबार अन्तर मोवाईल व्यवसायीबीच फुटसल प्रतियोगिताको आयोजना गरेको छ । हेटौंडा ४ स्थित फुटसल खेल मैदानमा आठ समूहमा विभाजित भएका मोवाईल व्यवसायीले फुटसल खेलेका थिए ।
नकआउट चरणमा भएको खेलमा समूह पाथिभरा विजेता बनेको छ । विजेता बन्दै पाथिभरा समूहले नगद १० हजार नगद सहित ट्रफि, मेडल प्राप्त गरेका छन् भने उपविजेता समूह गढी बनेको छ । गढीले नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ । पाथिभराले गढीलाई ४-२ गोलअन्तरले पराजित गर्दै विजेता बनेको हो ।
प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्दै म्याच अफ द टुनामेन्ट पाथिभरका एसीस रिजाल घोषित भए भने सर्वाधिक गोलकर्ता गढी समूहका सरोज लामाले गोल्डेन बुट प्राप्त गरेका छन् । उत्कृष्ट गोल रक्षक समूह पाथिभराका सुरेन घिमिरेले ग्लब्स प्राप्त गरेका छन् ।
पहिलो खेलमा समूह त्रिखण्डी र समूह मनकामनाबीच भएको थियो । उक्त खेलमा ३-१ गोल अन्तरले त्रिखण्डी समूह विजयी भएको थियो । त्यस्तै, दोस्रो खेलमा समूह दक्षिणकाली र समूह मनहरीबीच भएको थियो । उक्त खेलमा ३-१ गोल अन्तरले दक्षिणकाली समूह विजयी भएको थियो ।
प्रतियोगिताको तेस्रो खेल समूह पशुपति र समूह पाथिभराबीच भएको थियो । निर्धारित समयमा ४-४ गोल भएपछि खेललाई पेनाल्टी सुट आउटमा लगिएको थियो । पेनाल्टीमा २-१ गोल अन्तरले हराउँदै पाथिभरा समूह विजयी भएको थियो । प्रतियोगिताको पहिलो चरणको अन्तिम खेल समूह भुटनदेवी र समूह गढीबीच भएको थियो । उक्त खेलमा ८-२ गोल अन्तरले हराउँदै गढी समूह विजयी भएको म्यान मकवानपुरका महासचिव राजकुमार दाहालले बताए ।
प्रतियोगिताको सेमी फाइनल खेल त्रिखण्डी समूह र गढी समूहबीच भएको थियो । त्रिखण्डीलाई ४-० गोलअन्तरले हराउँदै गढी फाइनल प्रवेश गरेको थियो । त्यस्तै दोस्रो सेमीफाइनल खेलमा पाथिभरा समूह र दक्षिणकाली समूहबीच भएको थियो । पाथिभराले ४-२ गोल अन्तरले दक्षिणकालीलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।
म्यान मकवानपुरका अध्यक्ष नवराज चौलागाईको सभाध्यक्षता तथा नेपाल मोवाईल व्यवसायी महासंघ बागमती प्रदेश संयोजक छतेन्द्र आचार्य को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका सदस्य तेजराज अधिकारी, म्यान मकवानपुरका पुर्व अध्यक्ष एसीस रिजाल, निवर्तमान अध्यक्ष दिनेश लामा, म्यान मकवानपुर पश्चिमी क्षेत्रका अध्यक्ष हिमशिखर ब्लोन, प्रेस सल्लाहकार श्रीराम अर्जुन, फुटसल कार्यक्रम संयोजक एंव म्यान मकवानपुरका सदस्य पुष्पराज गौतम लगायतको आतिथ्यता रहेको थियो ।