चितवन–२, तनहुँ–१ र बारा–२ मा आज उपचुनाव हुँदैछ । प्रतिनिधि सभा सदस्य चयनका लागि आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुन लागेको हो । निर्धक्क भइ भोट खसाल्न मतदातालाई निर्वाचन आयोगले आग्रह गरेको छ । तोकिएको मतदान केन्द्रमा उपस्थित भइ मतदान गर्नुपर्नेछ । तीनवटै क्षेत्रमा मतदानका लागि सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयहरूले जनाएका छन् ।
गर्मी धेरै भएका कारण चितवन–२ का धेरैजसो मतदान केन्द्रमा मतदाताका लागि टेन्ट व्यवस्था गरिएको छ । चितवन–२ मा ४३ मतदानस्थलमा १ सय ३८ मतदान केन्द्र छन् । चितवन–२ मा १ लाख २४ हजार ६ सय ९५ मतदाता छन् । चितवन–२ मा राजनीतिक दलका १२ र स्वतन्त्र १० उम्मेदवार छन् ।
तनहुँ–१ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र तोकिएको छ । तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् । तनहुँमा राजनीतिक दलका ९ उम्मेदवार छन् । आइतवार बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म चुनाव हुने क्षेत्रमा पर्ने पृथ्वी राजमार्ग खण्ड र भित्रि सडकमा गाडीलाई पूर्ण रूपमा बन्द गरिएको छ ।
बारा–२ मा १ लाख ५ हजार ११ मतदाताका लागि ८२ मतदानस्थलमा १ सय ३६ मतदान केन्द्र छन् । त्यहाँ दलका ११ र स्वतन्त्र २३ जना गरी ३४ उम्मेदवार छन् । बारामा नेपाल–भारत ६५ किलोमिटर सीमानाका, जिल्लाभर प्रवेश गर्ने र बाहिरिने सम्पूर्ण नाका, मुख्य सडक, पूर्वपश्चिम राजमार्ग, सहायक राजमार्ग, पथलैया–वीरगञ्ज सडकलगायतमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीरगञ्ज राजमार्गमा लामो दूरीका बाहेक अरू गाडी आज बन्द गरिएको छ । चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न विशेष सजगता अपनाएको आयोगले जनाएको छ ।
उपचुनाव हुने क्षेत्रमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बारा क्षेत्र नं २, चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।