हेटौंडा \ १७ औं लोकतन्त्र दिवसको अवसरमा बागमती प्रदेश राजधानी हेटौंडामा दीप प्रज्वलन कार्यक्रम गरिएको थियो । बैशाख ११ गतेलाई सरकारले लोकतन्त्र दिवस मनाउने गर्ने गर्दछ । हेटौंडामा जिल्ला समन्वय समिति मकवानपुरको सहकार्यमा गैर सरकारी संस्था महासंघ मकवानपुर समितिले लोकतन्त्र दिवसको अवसरमा हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन गरि लोकतन्त्रका विषयमा चर्चापरिचर्चा गरिएको थियो ।
गैसस महासंघका अध्यक्ष रमिला सापकोटाको अध्यक्षतामा दीप प्रज्वलन गरिएको थियो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारी, गैसस महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठक, इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलगायतले लोकतन्त्र दिवसका विषयमा आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा मकवानपुरका विभिन्न गैर सरकारी संस्था, मानव अधिकारकर्मी लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरे । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भइरहेको छ । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।
यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ । तर देशमा भएको परिवर्तनको हिस्सा रहेको लोकतन्त्र दिवस कुनैपनि सरकारले विभिन्न कार्यक्रम गरेर मनाएका देखिदैन्, हेटौंडामा पनि यही गैसस महासंघ बाहेक कुनैपनि सरकारी तथा निजी क्षेत्रले दिवस मनाएनन् । सरकारले गणतन्त्र दिवसमा सार्वजानिक दिएता पनि लोकतन्त्र दिवसलाई दिने व्यवस्था गरेका छैनन् ।