हेटौंडा \ श्रमिक बालबालिकाहरुको वस्तुगत विवरण तथा श्रममा रहेका बालबालिकाहरुलाई पुर्नस्थापना सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम हेटौंडामा भएको छ । कम्युनिटि एक्सन सेन्टर नेपाल (सिएसी)को ओयोजना तथा हेटौंडा उपमहानगरपालिकाको समन्वयमा आयोजित छलफल कार्यक्रममा बागमती प्रदेशका प्रहरी प्रमुख किरण राणाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रहरी प्रमुख राणाले बालश्रम न्यूनिकरणका लागि प्रहरीले भूमिका खेलिरहेको बताउँदै घरदैलो अभियान मार्फत डाटा संकलनमा पनि आफ्नो पहल रहने बताइन् । बालश्रम विरुद्धका अभियानमा कुनै कसर बाँकी नराख्ने बताउँदै राणाले सिंगो समाजमै चेतना आउनुपर्नेमा जोड दिएकी थिइन् ।
कार्यक्रमको अध्यक्षता गरेका हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख एंव बाल अधिकार समिति संयोजक राजेश बानियाँले उपमहानगरले नगर क्षेत्रका बालश्रमिकहरुको तथ्याङ्क संकलन गरिसकेको बताउँदै शुन्य बालश्रम बनाउने अभियानमा आफुहरु लागेको बताए ।
कार्यक्रम सीएसी नेपालका प्रमुख तुलसा लता अमात्यले हरेक स्थानीय तहसँग सहकार्य गर्दै बालश्रम न्यूनिकरणमा भूमिका खेल्ने अभियानमा आफुहरु लागेको बताइन् । २०८० सम्म बालमैत्री बनाउने हेटौंडा उपमहानगरको अभियानलाई आफुहरुको पनि अग्रसरता रहने बताइन् ।
उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले नगरभित्र बालश्रम सम्बन्धी वस्तुगत विवरण प्रस्तुत गरेकी थिइन् । उनले नगरका १९ वटै वडामा ६३ जना बालश्रमिकहरु रहेको तथ्याङ्क सार्वजानिक गरेकी थिइन् । नगरका ६, १२ र १६ वडामा बालश्रमिकहरु नभएको बताइन् ।
कार्यक्रममका श्रम तथा रोजगार कार्यालयका निमित्त प्रमुख भीम शर्माले उद्योग प्रतिष्ठानहरुमा बालश्रम शुन्य अवस्था पुगेको बताउँदै अशिक्षा र गरिबीका कारण बालश्रम हुने गरेको बताएका थिए । १८ वर्षमूनिका बालबालिकाहरुलाई काममा लगाउनु बालश्रम भएको बताउँदै अनुगमनको क्रममा भेटिएका बालश्रमिकहरुलाई पारिवारिक मिलन गराउन आफुहरुले भूमिका खेलेको बताए । कार्यक्रममा हेटौंडा नगर क्षेत्रका होटल व्यवसायी, विभिन्न संघसंस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।