हेटौंडा \ मकवानपुरको साविक चुरियामाई गाविसमा १६ वर्ष अघि टोलटोल र समूदायमा सहकारी अभियानमा लाग्नुभएकी सहकारी अभियान्ता मञ्जु थिङ पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान २०७९वाट सम्मानित हुनुभएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा महिला दिदीबहिनीको समूहिक छलफल र बचत कार्यक्रम गर्दै सुरुवात गरिएको सहकारी अभियान अहिले सम्म आइपुग्दा त्यो दिन सम्झेर थिङ झक्कानिनु हुन्छ ।
त्यसबेला सामान्य लेखपढ गर्न समेत नजान्ने बखत धेरै दुखकष्ट गरेर सहकारी स्थापना गर्दै सहकारीमा दिदीबहिनीहरुलाई जोड्दै अघि बढ्न असहज भएको उनी सुनाउँछिन् । प्लानका सर र मिसहरुको साथ सहयोगले आज हामी म मात्र होईन कि सिंगो सहकारी यहाँ सम्म आउन सफल भएको बताउँछिन् ।
२०१५ सालमा चुरियामाई २ नयाँबस्तीमा जन्मिनु भई सहकारी क्षेत्र र समाजसेवामा क्रियाशील रहेर असल कर्मले समूदायमा र सिंगो मकवानपुरमा परिचित हुनुहुन्छ थिङ ।
थिङको सहकारी अभियानको एक नमुना संस्थाको रुपमा महिला जनचेतना बचत तथा ऋण सहकारी संस्थालाई जिल्लामा मात्र नभई नेपालभर चिनाउन सफल हुनुहुन्छ । सहकारीको स्थापनाकालदेखी नेतृत्वदायी भूमिकामा रहि २०५७ सालमा संस्थाको उपाध्यक्ष र २०५८ देखी २०७४ सम्म लगातार १६ वर्ष अध्यक्ष भई संस्था हाँक्नु भएको थियो ।
अध्यक्ष भई आएका जिम्मेवारीलाई बहन गर्दै सहकारी क्षेत्रमा आज सम्म सक्रिय रुपमा लागि रहेका थिङले नेपालको सहकारी अभियानको विकासमा र्इंट्टा थप्दै इतिहास मा सफल महिला सहकारी अभियान्ताको परिचय बनाउन सफल हुनुहुन्छ । उनले महिला शशक्तिकरणका लागि आवाज उठाउँदै जातीय विभेद अन्त्यका लागि समेत सक्रिय रहेकी थिङ आफ्नो जीवनको उर्वर समय सहकारीमै बिताए र बाकीँ जीवन समेत सहकारी क्षेत्रमै बिताउने बताउँछिन् । उनी भन्छिन्ः मेरो जीवनको विश्वविद्यालय नै यही सहकारी क्षेत्र हो ।
आफु आर्थिक विपन्नता र औपचारिक शिक्षाबाट बन्चित हुदाँहुँदै पनि दुःखसुख गरेर यति लामो समय सहकारी अभियानमा जुटेकी थिङ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघबाट महिला तर्फ उत्कृष्ट सहकारी अभियानकर्मी भनी सम्मानित हुनुका साथै मकवानपुरमा दर्जनौं सम्मान तथा पुरस्कृत भइसक्नु भएको छ ।
महिला जनचेतना साकोसलाई जिल्लामा मात्र नभई देशभर चिनाउन सफल रहेकी थिङ अहिले सहकारीलाई मिश्रित गराई महिला हटाएर जनचेतना साकोस बनाई पुरुषलाई समेत सदस्यता वितरण सुरु गरिएको बताउँछिन् । उनले हाम्रो सहकारी अवलोकन गर्न वार्षिक दर्जनौं सहकारी संस्थाहरु आउने गरेको बताइन् ।
सुरुवाती चरणमा दिदीबहिनी जम्मा गर्न, बचत कार्यक्रम गर्दा र सहकारीलाई दर्ता गर्ने समय सम्झदाँ कहालिलाग्दो इतिहास रहेको उनी बताउछिन् । लेखपढ थिएन्, हिसाब आउदैनथ्यो, बिना भत्ता, आफ्नै सकेको पैसाले अभियान सुरु गरेका थियौं र अहिले सफल भएको बताउछिन् ।
पाँचपाँच रुपैया महिनाको जम्मा गरेर सुरु गरिएको त्यो बेला हामीले अहिले सहकारीले ३६ करोड भन्दा बढीको कारोबार गरेको छ । संख्यामा सदस्यहरु वृद्धि गर्दै समिति र कर्मचारीहरुको ठुलो योगदान गरेको भन्दै थिङले भनिन्ः अहिले सहकारीमा ४ हजार बढी शेयर सदस्य छन् र सहकारीमा २६ करोड २० लाख भन्दा बढी बचत रहेको बताइन् ।