हेटौंडा \ हेटौंडा उपमहानगरले गार्मेन्ट उद्योग सञ्चालनका लागि हेटौंडामा १० जनालाई एक महिने तालिम प्रदान गरेको छ । उपमहानगरको आर्थिक सहयोग तथा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरको आयोजनामा एक महिने तालिम प्रदान गरिएको हो ।
शुक्रबार तालिम समापन कार्यक्रम गर्दै सहभागिहरुले निरन्तर काम गर्ने जोश रहेको छ, त्यसका लागि नगरपालिकाले आवश्यक सहयोग गर्नुपर्ने बताएका थिए । तालिम लिँदा मेशिन अभाव रहेको समते गुनासो राखेका थिए । सिलाई व्यवसायी संघका अध्यक्ष जितेन नेपालीको सभाध्यक्षता तथा उपमहानगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा तालिम समापन गर्दै सहभागिलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
नगरपालिकाले गार्मेन्ट उद्योगको कार्यविधि तयार भइसकेको र तालिम लिइसकेकाले जेठ १ गते देखी उक्त कार्यविधिमा रहेर काम सुरु गर्नुपर्ने प्रमुख लामाले बताइन् । उनले अहिले हेटौंडाका विभिन्न वडाका १० जनालाई तालिम दिनुका साथै अब छिट्टै वडा नम्बर १८ मा पनि तालिम दिने तयारी उपमहानगरको रहेको बताइन् । तालिमलाई अनोज परियारले प्रशिक्षण दिएका थिए । तालिममा सर्ट पाइन्ट र ट्राकसुट लगायत तयार पार्ने सीप प्रदान गरिएको थियो ।
गार्मेन्ट सञ्चालनका लागि ७ वटा सिलाई मेशिन, १ वटा इन्टरलक मेशिन लगायत अन्य आवश्यक मेशिनहरु आवश्यक पर्ने सिलाई व्यवसायी संघका निवर्तमान अध्यक्ष मेनका श्रेष्ठले बताइन् । गार्मेन्ट सञ्चालनमा ल्याएपछि सर्ट पाइन्ट, ट्रयाक सुट, रेडिमेड तयार पार्ने र बजारका लागि विद्यालय सहित विभिन्न संघसंस्था सँग सहकार्य गरिनुपर्ने जनाइएको छ ।
तालिम समापन कार्यक्रममा उपमहानगरका विज्ञ सल्लाहकार डा. कृष्णप्रसाद धिताल, वडा नम्बर ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, पर्यटन तथा सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेल, सिलाई व्यवसायी संघका निवर्तमान अध्यक्ष मेनका श्रेष्ठ, प्रशिक्षक अनोज परियार लगायतको आतिथ्यता रहेको थियो ।