विश्व विख्यात महायोगी पाइलट बाबा नेपाल आइपुगेका छन्। शुक्रबार वीरगन्ज आइपुगेका उनी शनिबार १६ गते हेटौँडा आइपुगेका हुन् । यसपछि उनको चितवन जाने कार्यक्रम छ।
भारतमा झण्डै २ करोड ८० लाख साधु सन्त छन्। यी साधु सन्त विभिन्न १३ वटा अखाडासँग आबद्ध छन्। संख्या, प्रसिद्धि एवम् विस्तारका दृष्टिकोणले जूना अखाडा सबैभन्दा ठूलो र प्रभावशाली छ। यसै अखाडाका वरिष्ठतम महामण्डलेश्वर श्री १००८ सोमनाथ गिरी जनमानसमा महायोगी पाइलट बाबाका नामले विख्यात छन्।
उज्जैन पीठाधीश्वर समेत रहेका पाइलट बाबा नेपालमा पनि उत्तिकै विख्यात सन्त एवम् गुरुका रूपमा स्थापित छन्। उनको नेपाल र नेपालीप्रति अगाध श्रद्धा र माया हुनुको एउटा फरक एवम् विशिष्ट कारण छ।
सत्य एवम स्वयंको खोजका लागि भौँतारिदै हिँडेको क्रममा उनले मकवानपुर जिल्लाको भैंसेनिकट त्रिखण्डी महादेवमा गुरु भेट्टाए। त्रिखण्डीमै हरि बाबाले उनले संन्यास दीक्षा दिए। हरि बाबा आफ्ना गुरु राम अवतारसँग त्रिखण्डीमा बस्थे। त्रिखण्डी उनको गुरुस्थली हो।
पाइलट बाबाले आफ्नो गुरुस्थली त्रिखण्डीमा पनि आश्रम बनाउन सुरु गरेका थिए तर कोरोनाकालले गर्दा आश्रम निर्माणमा व्यवधान आयो। त्रिखण्डीमा निर्माणाधीन आश्रमलाई द्रुत गतिले सम्पन्न गराउन उनी यसपटक नेपाल आएका हुन्। उनको आजै त्रिखण्डी भ्रमण गर्ने कार्यक्रम रहेको छ । नैनीताल, हरिद्वार, सासाराम, उत्तरकाशी, गंगोत्री, ऋषिकेश (रायवाला) मा पाइलट बाबाका आश्रम छन्।
गत २१ फेब्रुअरी देखि ३ मार्चसम्म भारतको गुजरात राज्यको अहमदाबादमा आयोजित दस महाविद्या यज्ञमा भारतीय र नेपालीका अतिरिक्त सयौँ विदेशी पनि सहभागी थिए।
पाइलट बाबाले दसौँ हजार विदेशीलाई सनातन हिन्दू आचरणमा प्रवृत गराए। के अमेरिकी, के जापानी, के रसियन, के यूक्रेनियन, के यूरोपियन- विभिन्न देशका हजारौँलाई उनले दीक्षा दिए। सयौँ व्यक्तिलाई सन्यासी बनाएका छन् ।-रातोपाटीबाट