हेटौंडा \ सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुलाई सहकारीका विभिन्न विषयहरुमा जानकारी दिने उद्देश्यका साथ आईतवार देखि हेटौडामा ६ दिने आभारभूत सहकारी व्यवस्थापन तालिम सुुरु भएको छ । मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजना र बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको सहयोगमा तालिमको आयोजना गरिएको हो ।
तालिमको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यता तथा मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपानको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख घलानले तालिमले वर्तमान समयमा सहकारी संस्था माथि आईपरेका समस्या समाधान गर्न मद्दत गर्ने बताएका थिए ।
सञ्चालक समिति र कर्मचारी बीच सुमधुर सम्बन्ध भएमात्र सहकारीले सोचे अनुसारको काम गर्न सक्ने बताउदै प्रमुख घलानले सहकारी देशको अर्थतन्त्रको एउटा खम्बा भएको बताएका छन् । उनले सहकारीले उत्पादनको क्षेत्रमा काम गरि रोजगारी सिर्जना गरिनुपर्ने बताएका छन् ।
उदघाट्न कार्यक्रममा हेटौडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, राष्ट्रिय सहकारी बैंक हेटौडाका प्रमुख रामेश्वर अर्याल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि कँडेल, जिल्ला सहकारी संघका पूर्व अध्यक्ष बद्री प्रसाद लम्साल लगायतको आतिथ्यता रहेको थियो ।
६ दिने तालिममा रामेश्वर अर्याल, भीम परियार, कल्पना श्रेष्ठ, विष्णुमाया लामा, बद्री प्रसाद लम्साल, बीरेन्द्र प्रसाद ढुङगाना, गोविन्द दाहाल, शर्मिला ढङ्गोल, सीताराम दाहाल, लगायतकाले सहजीकरण गर्नु हुनेछ ।
तालिममा विभिन्न बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समिति, लेखा समिति र कर्मचारी समेत गरि ३० जनाको सहभागिता रहेको छ । तालिम बैशाख २२ गते सम्म सञ्चालन हुनेछ ।