हेटौंडा \ हेटौंडा उपमहानगरपालिकामा रहेका बालश्रमिकहरुको प्रारम्भिक तथ्याङ्क अनुसार ६३ जना बालबालिका श्रममा रहेको पाइएको छ । हामीले पहिलो चरण १९ वटै वडामा प्रारम्भिक तथ्याङ्क संकलन गर्दा ६३ जना बालबालिकामा श्रममा रहेको हेटौंडा उपमहानगरपालिकाका महिला तथा बालबालिका विकास शाखा प्रमुख विष्णुकुमारी लामिछानेले बताइन् । सबैभन्दा बढी वडा नम्बर ४ मा ९ जना रहेकाछन् भने वडा नम्बर ६ १२ र १६ मा भने बालश्रमिक नभेटिएको प्रमुख लामिछानेले बताइन् । बालश्रमिकहरुमा बालक ५५ जना र बालिका ८ जना रहेको जनाइन् ।
१८ वर्षमूनिका बालबालिकालाई श्रममा लगाइएको पाइएमा कानुन विपरित मानिनेछ । ६३ जनामा १७ वर्षका १४ जना, १६ वर्षका १३ जना, १५ वर्षका १५ जना, १४ वर्षका १३ जना, १३ वर्षका ५ जना र १२ वर्षका तनि जना बालश्रमिक रहेको छन् । उनीहरु मध्ये मकवानपुरका ३३ जना, बाहिर जिल्ला २२ र छिमेकी राष्ट्र भारतका ७ जना र एक जनाका विवरण नखुलेको बालश्रमिकहरु भेटिएको प्रमुख लामिछानेले बताइन् ।
उनीहरु मध्ये मोटर ग्यारेजवर्कसपमा काम गर्ने बालश्रमिकहरु २२ जना, रेष्टुरेन्ट,होटल र ब्याङ्केट्समा १२, यातायात क्षेत्रमा १२, निर्माण ढुवानीमा सात जना, घरायसी काममा तीन जना, कवाडी र फ्याक्ट्रीमा २÷२ जना र अन्यमा ३ जना रहेको पाइएको छ ।
तथ्याङ्क संकलनको क्रममा बालश्रमिकहरु मध्ये ५२ जनाले हाल गरिरहेको कामलाई नै भविष्यको योजना बनाएका छन् भने ६ जनाले पढ्न चाहेको र ५ जनाले सीप सिक्न चाहेको बताएका थिए ।
उनीहरुमध्ये २८ जनाले कमाएको पैसा घरमा पठाउने गरेको, १६ जनाले पारिश्रमिक नपाउने र गरेको, ९ जनाले आफुलाई मात्र खर्च गर्ने गरेको, ९ जनाले कमाइएको प्रयोग नखुलाएको र एक जनाले धुम्रपान मद्यपानमा खर्चने गरेको जनाएको छ ।
तथ्याङ्क अनुसार बालश्रमिकहरुले काम वापत न्यूनतम खान बस्न देखी अधिकतम मासिक १५ हजार पारिश्रमिक पाउने गरेको बालबालिका बताउँछन् । हेटौंडा उपमहानगरले वडावडामा बालसहजकर्ता राखेर बालबालिका सम्बन्धी सुचकहरुमा तथ्याङ्कहरु संकलन गरिरहेको छ । हेटौंडा महानगरपालिकाले ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार’ भन्ने मूल नाराका साथ मंसीर महिनाको अन्ततिर बालमैत्री घोषणा गर्ने तयारीमा रहेको प्रमुख लामिछानेले बताइन् ।