नेपाललाई हिन्दुराष्ट्र कायम गर्नु पर्ने भन्दै हेटौडामा बहस सुरु भएको छ । बुधबार देखी हेटौडाको राप्तीतट गोरक्षश्वर क्षेत्रमा सुरु भएको पञ्च वर्षिय विराट महायज्ञको उदघाटन गर्दै पुर्व प्रधान न्यायधीश गोपाल पराजुलीले नेपाललाई हिन्दुराष्ट्र बनाउन पहल गर्नु पर्नेमा जोड दिनुभयो । पुर्व न्यायधीश पराजुलीले धर्म उत्थान सभ्यता रक्षाको लागि नेपालमा हिन्दुराष्ट्र कायम हुन जारी रहेको बताउनु भयो । उहाँले सबैको प्रयासले अहिलेको व्यवस्था आएको बताउदै सबै मोक्षको लागि महायज्ञले सम्बोधन गर्नेमा समेत जोड दिनुभयो । उहाँले नेपालीहरुले मौलिकता बिर्सदै गएको भान आफुमा परेकाले मौलिकता कदापि भुल्न नहुनेमा जोडदिनु भयो ।
हेटौंडामा प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको नयाँ वर्ष विराट ज्ञान महायज्ञ अन्तर्गत बुधबारको उद्घाटनमा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले हामी भित्र सबै अटाउने र लोकलाई हित गर्ने हिन्दुराष्ट्र आवश्यक भएकाले छिटै यसको महत्व बुझ्नमा जोड दिनुभयो । उहाँले हाम्रा मठ मन्दिरहरु भुलेर पाश्चात्य संस्कृति अंगाल्न नहुने भन्दै धर्मको रक्षाको लागी नेपालमा हिन्दुराष्ट्र कायम गर्नुपर्नेमा जोड दिनु भयो । देशलाई अस्थिर बाट बचाउन हिन्दुराष्ट्रको महत्व रहेको उहाँले बताउनु भयो । केही स्वार्थीहरूले सदनमा टेबल ठटाएर बनाईएको संविधानले लोभलालच बनाएको बताउँदै यस्तो लोभलालचका कारणले अहिले देशलाई धर्मनिरपेक्ष भनिएको हो । तर त्यो जो कसैलाई पनि मान्य हुनै सक्दैन शाहीले बताए । त्यस्तै, प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंहले पनि नेपाललाई हिन्दुराष्ट्र कायम गर्न सरकार समक्ष आव्हान गर्नुभयो ।
उहाँले संविधान संसोधन गरेर भएपनि देशलाई विखण्डन हुनबाट बचाउन उद्घोष गर्नुभयो । कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्य ईन्द्र बहादुर बानियाँले महायज्ञ मार्फत शान्तिको सन्देश प्रवाह हुने भन्दै हिन्दुराष्ट्रको आवश्यक्ताका बारेमा चर्चा गर्नुभयो । कार्यक्रममा रामनारायण विडारी, स्वामी लक्ष्मण देवजी महाराज, गैर आवाशीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, अग्निहोत्रा आश्रम संरक्षक डा. सीताराम खनाल लगाएतले संस्कृतिभित्र पुर्खाको इतिहास रहने बताउदै इतिहासभित्र पहिचान रहेकोमा जोडदिनु भयो । उहाँहरुले पहिचानभित्र धर्म हुने बताउदै वास्तवमा धर्मले समग्र सभ्यताको प्रतिनिधित्व गर्नेमा जोडदिनुभयो । देशको पहिचान संकटमा परेकाले अब हिन्दुराष्ट्र को बहसलाई अगाडी बढाउन उहाँहरुले जोड दिनु भयो ।
गोरक्षश्वर विकास समितिका अध्यक्ष एवं संरक्षक अजयराज सुमार्गीले महायज्ञले देशमा शान्ति छाउनेमा जोड दिनु भयो । सबैको भलोका लागी प्रत्येक पाँचपाँच वर्षम महायज्ञ आयोजना गरीएको उहाँले बताउनु भयो । विस २०६० सालदेखी निरन्तर पाँच पाँच वर्षमा आयोजना हुने महायज्ञको यो पाँचौ आयोजना हो । महायज्ञमा अनन्त श्री विभुषित स्वामी कमल नयनाचार्यको प्रमुख संरक्षकत्व र वैदिक दर्शनका व्याख्याता अग्निहोत्री डा.सीताराम खनालको अभिभावकत्वमा रहने सुमार्गीले बताउनु भयो । महायज्ञमा करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यबाट भक्तिसंगीतमय श्रीमद्भागवत कथा प्रवचन हुने जनाएको छ ।
महायज्ञमा विभिन्न धर्म संस्कृतिका आचार्य गुरुहरु ,सामाजिक व्यक्तिहरु एनआरएनसँग सम्बन्धित राष्ट्रिय÷अन्तर्राष्ट्रिय व्यक्तिहरु, समाजसेवी, बुद्धिजीवी, प्राध्यक, शिक्षक, उद्योगपति, व्यवसायी लगायत नेपालका अन्य जिल्लाबाट समेत विशिष्ट व्यक्तिह?को सामुहिक उपस्थिति रहने समितिका अध्यक्ष सुमार्गीले बताउनु भयो । सुमार्गीले पछिल्लो चरणमा धर्म संस्कृति र परम्परा लोपोन्मुख हुँदै गएको हुँदा त्यसलाई जोगाउन यो महायज्ञले महत्वपुर्ण भुमिका खेल्ने उहाँले बताउनु भयो । करीव एक करोड खर्चमा आयोजना हुने अनुमान गरीएको यो महायज्ञमा लिने भन्दा पनि दिने महायज्ञ भएको हुँदा सबैले आ आफुले खुला मनले सहभागी हुन उहाँले आग्रह गर्नुभयो । आगामी २६ गते सम्म चल्ने महायज्ञमा सवा पाँच करोड दीप प्रज्वलन गरीने सुमार्गीले बताउनु भयो