हेटौंडा \सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुलाई सहकारीका विभिन्न विषयहरुमा जानकारी दिने उद्देश्यका साथ आईतवार देखि सुरु भएको आभारभूत सहकारी व्यवस्थापन तालिम शुक्रबार समापन भएको छ ।
मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजना र बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, प्रदेश सहकारी बोर्डको सहयोगमा तालिमको आयोजना गरिएको हो । तालिम समापन कार्यक्रममा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता तथा मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपानको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै कार्यकारी उपाध्यक्ष देवकोटाले सिकेका कुरालाई कार्यान्वयन गर्न सबै सहभागिलाई आग्रह गर्नुका साथै लेखालाई व्यवस्थित गर्न सके सहकारीले फड्को मार्ने बताए । सहकारी नीति र विधिमा चलेको छ या छैन हेरी यदी नचलेको अवस्था छ भने कानुनी कारवाही समेत हुने देवकोटाले बताए । तालिमले तत्काल रिजल्ट नदिने तर केही महिना पछि त्यसको रिजल्ट देखिने भन्दै देवकोटाले ऋण लगानी नउठ्ने समस्या अहिले धेरै सहकारीमा रहेकाले त्यस्तो अवस्थामा सहकारीका सबै पक्ष लागेर काम गर्नुपर्ने बताए ।
समापन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान सञ्चालक बद्रीप्रसाद लम्साल, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्र प्रसाद ढुङ्गाना सहितका अन्य प्रशिक्षकहरु तथा सञ्चारकर्मीहरुको आतिथ्यता रहेको थियो ।
६ दिने तालिममा भीम पाख्रीन, एनसी बि.एल, बद्री प्रसाद लम्साल, रामेश्वर अर्याल, भीम परियार, कल्पना श्रेष्ठ, विष्णुमाया लामा, वीरेन्द्र प्रसाद ढुङगाना, गोविन्द दाहाल, शर्मिला डङ्गोल , सीताराम दाहाल लगायतकाले सहजीकरण गरेका थिए । तालिममा विभिन्न बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समिति, लेखा समिति र कर्मचारी समेत गरि ३० जनाको सहभागिता रहेको छ ।
तालिममा बचत तथा ऋण सहकारी र कृषि सहकारी संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिको तर्फबाट पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि राम कार्की र हिमाल बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि रुक्मिणी ढुङ्गानाले आफ्नो भनाइ राखेका थिए ।