दाङ \ चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले दाङलाई चलचित्र नगरीको रुपमा विकास गर्न आफ्नो ध्यान केन्द्रीत रहेको बताएका छन् ।
चलचित्र पत्रकार संघ दाङ शाखाले शनिवार तुलसीपुरमा आयोजना गरेको स्वागत सम्मान एवं साक्षात्कार कार्यक्रममा बोल्दै बुढाथोकीले दाङलाई चलचित्र छायाङ्कनको नगरी बनाउन थुप्रै सम्भावना रहेको बताएका हुन् । विभिन्न जातजातिको बसोबास रहेको दाङ जिल्लामा स्थानीय भेषभुषा, कला संस्कृति, रहनसहनलाई समेटेर चलचित्र निमार्ण गर्न सकेमा जिल्लालाई अन्तराष्ट्रिय जगतमा चिनाउन सकिने बताए ।
हालै चलचित्र विकास बोर्डको प्रवक्तामा नियुक्त भएका बुढाथोकी लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा घुम्ति सिनेमा तथा सिनेमा साक्षारता अभियानका क्रममा दाङ आइपुगेका हुन् । कार्यक्रममा उनले नेपाली चलचित्र हेर्ने संस्कृतिको विकास गर्न बोर्डको आयोजनामा देशैभर घुम्ति सिनेमा तथा सिनेमा साक्षारता कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
जहाँ सिनेमा हलहरु छैनन्,सहज रुपमा नेपाली मौलिक चलचित्र हेर्न सक्ने अवसर मिलिरहेको छैन,त्यहाँ पुगेर आम नागरिकहरु सामु चलचित्र प्रदर्शनी गरिरहेका छौं,प्रवक्ता बुढाथोकीले भने, यस कार्यक्रमले नेपाली चलचित्रको बारेमा नागरिकको अवधारणा, रुचि मनोभावलाई बुझ्न मद्धत पुगेको बताए ।
उनले दाङमा बाल चलचित्र महोत्सव सञ्चालन गर्ने योजना रहेको बताउँदै त्यस महोत्सवमा बालबालिकाले आफैले तयार गरेका कथा वस्तुहरु प्रदर्शनीमा राखिने छ । पछिल्लो समय चलचित्रले अस्थिरता,हिंसा,विभेद फैलाउँदै गएको बताउँदै प्रवक्ता बुढाथोकीले त्यसलाई नियमन गर्न चलचित्र विकास बोर्डसगैं आम नागरिक समाज पनि जागरुप हुन जरुरी बताए ।
चलचित्र पत्रकार सघं नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रवक्ता माधव ओलीले स्थानीय पालिकाले विभिन्न जातजातिको कला संस्कृति संरक्षण गर्नका गर्न लागि केही मात्रामा बजेट विनियोजन गर्ने आएपनि चलचित्रको माध्यमबाट ती देखाउने कुराहरुलाई ठोस रुपमा लैजान नसकिरहेको स्वीकार गरे ।
दाङको कला संस्कृति,सम्भावनाहरुलाई लाई चलचित्रको माध्यमबाट विश्वभर कसरी चिनाउन सकिन्छ भनी विकास बोर्डले सबै पालिकासँग छलफल–बहस चलाउन आवश्यक छ,प्रवक्ता ओलीले भने ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र कुमार शाहले चलचित्र क्षेत्रमा भित्रिरहेका विकृति विसंगतिलाई रोक्न विकास बोर्डले ध्यान पु¥याउनुपर्ने बताए ।
त्यस्तै बोक्सी प्रथा अभियानका अध्यक्ष कोभिड शरणले समाजमा अझै पनि बोक्सी भनेर हेप्ने परम्परा यथावत रहेको हुदाँ अब समाजलाई जागरुप बनाएर बोक्सी कु–पर्थालाई अन्त्य गर्नुपर्ने र त्यसका लागि स्थानीय पालिकासँग सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रममा रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी, चलचित्र पत्रकार सघंका निवर्तमान अध्यक्ष शिव पुन, संघका सचिव निरला अर्याल लगायतको उपस्थिती रहेको थियो ।