हेटौंडा \ बागमती प्रदेश सरकारको प्रादेशिक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट रत्ननगर नगरपालिका वडा नम्बर १२ चितवनका बि.एण्ड बि. केरा फार्मका संचालक विष्णुहरी पन्त प्रथम भएका छन् । कृषि निर्देशनालयमा आइतबार आयोजित एक कार्यक्रमका बीच पन्तलाई ७० हजार नगद सहित पुरस्कृत गरिएको छ । पन्तले २८ विघाह जग्गामा केरा खेती गरेर वार्षिक पौने दुई करोडको कारोबार गर्दै आइरहेका छन् । प्रदेश सरकारले हरेक वर्ष प्रदेशभरका उत्कृष्ट कृषकहरु पुरस्कृत गर्दै आइरहेको आइरहेको छ ।
यस वर्षपनि यस कार्यलाई निरन्तरता दिदैं पाँच जना कृषकलाई पुरस्कृत गरिएको हो । दोस्रो स्थान भने ललितपुरको बागमती गाउँपालिका वडा नम्बर १ मा रहेको जनजिविका कृषि तथा पशु फार्मका सञ्चालक गोविन्द गौतम द्वितीय भएका छन् । उनले नगद ६० हजार नगद सहित सम्मान पत्र प्राप्त गरेका छन् । कृषक गौतमले २५ विघाह जमिनमा किबी, जापनीज हलुवावेद र एभोकाडोसँगै विभिन्न जातका तरकारीको खेती गर्दै आएका छन् ।
यस्तै माडी नगरपालिका वडा नम्बर ६ चितवनमा रहेको सरोज कृषि फार्मका सञ्चालक सरोज साह तेली तृतीय भएका छन् । उनले नगद ५० हजार सहित सम्मान पत्र प्राप्त गरेका छन् । कृषक तेलीले १५ विघाह जमिनमा पोखरी बनाएर माछा पालन सँगै खसीबाख्रा पालन गरेर वार्षिक डेढ करोड कारोबार गर्ने गरेका छन् ।
यसैगरी पनौती नगरपालिका वडा नम्बर २ काभ्रेमा रहेको कुशादेवी कृषि फार्मका सञ्चालक रमेश आचार्य र भरतपुर महानगरपालिका वडा नम्बर १७ चितवन मा रहेको विष्णुदेवी एग्रिकल्चर फार्मका सञ्चालक विष्णुबहादुर विश्वकर्मा सान्त्वना भएका छन् । उनीहरुले जनही ४० हजार नगद सहित सम्मान पत्र प्राप्त गरेका छन् ।
पुरस्कृतहरुलाई सम्मान गर्दै कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले कृषकहरुमा पर्ने समस्या समाधानमा सधैं तत्पर रहेको बताए । उनले कृषकहरुलाई प्रोत्साहनका लागि यस पुरस्कार प्रदान गरिएको बताए । बागमती प्रदेश सरकारको प्रादेशिक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त कृषकहरुको छनौट जिल्लागत रुपमा उत्कृष्ट भएका ३६ जना कृषकहरु मध्येबाट छनोट गरिएको मन्त्रालयका सचिव पाण्डेल बताए ।
पुरस्कृत कृषकले कृषि पेशालाई जोगाई राख्ने हो भने कृषि अनुदानमा वृद्धि गर्नुपर्ने, समयमै मलखादको व्यवस्था गर्नुपर्ने माग राखेका थिए । कृषि विकास निर्देशनालयका निमित्त प्रमुख तेजप्रसाद दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास निर्देशनालयका वरिष्ठ अधिकृत, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, तालिम केन्द्रका प्रमुखहरुको उपस्थिति रहेको थियो ।