हेटौंडा \ जिल्ला प्रहरी कार्यालय मकवानपुरले आव २०७९/८० मा दशक यताकै सबैभन्दा बढी लागुऔषध गाँजा बरामद गर्न सफल भएको छ । जिल्ला प्रहरीको तथ्याङ्क हेर्दा आव २०७०/०७१ यता कै देखी चालु आवमा हाल सम्म पाँच हजार ३२३ किलो ४८९ ग्राम लागुऔषध गाँजा बरामद गर्न सफल भएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले बताउनुभयो ।
मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिकाका साथै थाहानगरका केही क्षेत्रहरुमा लागुऔषध गाँजा उत्पादन गर्ने गरेको पाइन्छ । जिल्लाबाट वा इलाकाबाट प्रहरी टोली खटेर लगाइएको गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्य भएता पनि विकट क्षेत्रहरुमा उत्पादन भइरहेको पाइन्छ ।
चालु आवमा हाल सम्म लागुऔषध सहित १५४ जना पुरुष र १५ जना महिला गरी १७२ जना नेपाली नागरिक पक्राउ परेका छन् भने १८ जना भारतीय नागरिक पक्राउ गरिएको प्रहरी प्रमुख गौतमले बताउनुभयो । आव २०७०/०७१ म मकवानपुर प्रहरीले २ हजार ५८० किलो आठ सय ग्राम गाँजा बरामद गरेको थियो भने पछिल्लो वर्ष एक हजार ८५ किलो १५ ग्राम बरामद गरिएको गौतमले बताउनुभयो ।
आव २०७२/०७३ मा ३ हजार २४३ किलो ९४४ ग्राम बरामद गरिएको छ भने आव २०७३/०७४ मा एक हजार ९४० किलो ८२५ ग्राम बरामद गरिएको प्रहरीको तथ्याङ्कमा रहेको छ । त्यस्तै आव २०७४/०७५ मा एक हजार ११० किलो ३६७ ग्राम, ०७५/०७६मा तीन हजार १९८ किलो ५३० ग्राम, ०७६/०७७मा एक हजार ६४६ किलो ८६०ग्राम, ०७७/०७८मा एक हजार ७८९ किलो ९४३ ग्राम र ०७८/०७९ मा २ हजार ६६२ किलो ४९२ ग्राम गाँजा बरामद गर्न सफल भएको प्रमुख गौतमले बताउनुभयो ।
गाँजाका साथै मकवानपुर प्रहरीले लागु औषध अफिम,खैरो हिरोइन, चरेस, नाइट्रोभेट ट्याव्लेट, डाईजेपाम ट्याव्लेट पनि बरामद गरेको छ । चालु आवमा सबैभन्दा बढी फागुन महिनामा मात्र दुई हजार १३१ किलो ७३० ग्राम गाँजा बरामद गरिएको जनाइएको छ । मकवानपुर लागु औषध गाजाँ उत्पादन मात्र नभई भारत निकासीको ट्रान्जिट प्वाइन्ट समेत रहेकाले कडाईका साथ प्रहरी परिचालन गरि ओसारप्रसार नियन्त्रणमा लागि परेको प्रमुख गौतमले बताउनुभयो ।
गाँजामात्र नभई अफिम,खैरो हिरोइन, चरेस, नाइट्रोभेट ट्याव्लेट डाईजेपाम ट्याव्लेटहरु पनि मानिस र सवारी साधन सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कारवाहीका लागि मकवानपुर प्रहरी परिचालित भइरहेको गौतमले भन्नुभयो । उहाँ भन्नुहुन्छः प्रदेशको राजधानी हेटौंडा भएकाले शान्ति सुरक्षामा लाग्नुका साथै अवैध रुपमा ओसारप्रसार भइरहेका यस्ता लागुऔषध नियन्त्रणमा प्रहरीले रातदिन मेहनत गरिएको बताउनुभयो ।