बालबालिकालाई निकृष्ट काममा लगाउने हेटौंडाका तीन होटल कारवाहिमा परेका छन् । हेटौंडा–१० बसपार्क क्षेत्र रहेको होटलले बालबालिकालाई निकृष्ट काममा प्रयोग गरेको पाइएपछि श्रम कार्यालय हेटौंडाले सोमबार तीन होटललाई कारवाहि गरेको हो ।
कारवाहिमा बसपार्क क्षेत्रमा रहेको धादिङ, डाँफे र गण्डकी होटल परेका छन् ।श्रम कार्यालयका हेटौंडाका अनुसार कारवाहि अनुसार धादिङले ११ वर्ष उमेरकी बालिकालाई श्रममा लगाएको भन्दै ७ हजार, डाँफेले १५ वर्षिय बालक र गण्डकीले १६ वर्षिय बालिकालाई काममा लगाएको भन्दै ३/३ हजार रुपियाँ जरीवाना तिरेका छन् ।
श्रम कार्यालय जरीवाना तिर्दै उनिहरुले आगामि दिनमा होटलका बालश्रमको प्रयोग नगर्ने प्रतिवद्धता समेत जनाएको बताइएको छ । आगामि मंसिर मसान्त सम्म हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणाको तयारीमा रहँदा बैशाख २० गते बसपार्क क्षेत्रका होटलमा बालश्रममा लगाइएको ४ जनाको उद्धार गरीएको थियो । उद्धार गरीएका मध्य एक जना जन्मदर्ताका आधारमा परिवारमा पुर्नस्थापना भएका छन् भने अन्य तीन जनालाई सोमबार श्रम कार्यालयमा बालश्रमबारे आवश्यक परामर्श सहित परिवारको जिम्मा लगाइएको हो ।
उपमहानगरको नगर बाल अधिकार समिति अन्तरगतको बालश्रमिक उद्दार तथा पुर्न स्थापना उपसमितिको नेतृत्वमा गएको अनुगमन टोलीले बसर्पाकका बिभिन्न तीन होटलबाट कानुनविपरित श्रममा लागिरहेका बालबालिकाहरुको उद्दार गरेको थियो ।
अनुगमन टोलीले कैलाश गाउँपालिका घर भई विगत १० महिनादेखि बसर्पाकस्थित डाँफे होटलमा काम गरिरहेका १५ वर्षीय बालक , डाँफे होटलबाटै भीमफेदी गाउँपालिका–६, माण्डु घर भएकी १५ वर्षीया बालिका, धादिङ होटल एण्ड लजबाट धादिङको रोराङ गाउँपालिका घर भएकी १३ वर्षीया बालिका र गण्डकी होटल एण्ड लजबाट भीमफेदी–५ सुपिङ घर भएकी १५ वर्षीया बालिकाको उद्दार गरेको थियो ।
बालश्रम ऐन (निषेध तथा नियमित) २०५६ अनुसार १४ बर्ष भन्दा मुनिका बालबालिकालाई श्रममा प्रयोग गर्न नपाउने व्यवस्था रहेको छ भने १४ देखि १८ वर्ष समुहको हकमा श्रम कार्यालयबाट श्रम अनुमती लिएर प्रयोग गर्न पाउने प्राबधान भएपनि उनिहरुलाई निकृष्ट श्रममा प्रयोग गर्न नमिल्ने व्यवस्था रहेको छ । यदी कानुन उल्लंघन गरेका ३ महिना कैद वा ५० हजार रुपियँसम्म जरीवाना वा दुबै हुने व्यवस्था छ ।
उपमहानगरको प्रारम्भिक चरणको तथ्याङक अनुसार हेटौंडामा ६३ जना श्रमिक बालबालिका रहेका छन् । उनिहरुलाई बालश्रममा प्रयोग नगर्नका लागि सम्बन्धीत ठाउँमा जानकारी गराइसकेको बताइएको छ । यदी बालश्रमको प्रयोग भएको पाइएमा उद्दार र जरीवाना सहित कानुनी कारवाही गरीने उपमहानगरले जनाएको छ । उपमहानगरले बाल मैत्री पालिका घोषणाको लागि थालेको तयारीमा सबैलाई सहकार्यको लागि आवहन गरेको छ ।