हेटौंडा \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ कुर्लेमा रहेको वंशगोपाल माध्यामिक विद्यालय(प्राविधिक शिक्षालय)को ३८ औं वार्षिक अभिभावक भेला सोमबार भएको छ । विद्यालय व्यवस्थापक समितिका अध्यक्ष रामप्रसाद पुडासैनीको सभाध्यक्षता तथा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा भेला भएको हो । भेलामा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको विशिष्ट आतिथ्यता रहेको थियो ।
भेलामा पहिलो चरणमा विद्यालय व्यवस्थापन समितिका लागि चार जना नयाँ सदस्य चयन गरिएको छ । जसमा जीत बहादुर लो, सुवल सिं डिम्डुङ, संजीता घलान र रचना दर्लामी मगर चयन भएका छन् ।
भेलामा विद्यालयलाई जग्गादान गर्ने प्रेमकुमारी घिमिरे, पूर्व कर्मचारी टिकाराम स्याङ्तानलाई सम्मान गरिएको थियो । बालकक्षा देखी ९ कक्षा सम्मका प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिनुका साथै शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।
भेलामा आव २०७८÷७९ को आयव्यय विवरण पारित गरिनुका साथै आव २०७९/८० को आन्तरिक लेखा परिक्षण अनुमोदन गरिएको विद्यालयका प्रध्यानाध्यापक सन्देश तुम्सिङ मगरले बताए । उनले भेलामा आव २०८०÷८१ को अनुमानित आयव्यय विवरण पेश गरिएको समेत बताएका छन् ।
भेलामा वडा नम्बर २ का वडा अध्यक्ष बखान सिं पाख्रीन, वडा १ का अध्यक्ष आइत सिं लो, गाउँपालिका शिक्षा शाखा प्रमुख राम बहादुर घलान, वडा २ का वडा सदस्य रामप्रसाद चौरेल, कार्यपालिका सदस्य पातलीमाया गोले, चण्डिका माविका अध्यक्ष राजकुमार गोले लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका पूर्व अध्यक्षहरु, टोल विकासका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।