हेटौडा \ हेटौडा–६ कल्याणटारमा रहेको कल्याणटार खड्कुले खानेपानी उपभोक्ता समिति मंगलवार देखि हेटौडा खानेपानी व्यवस्थापन बोर्डमा गाभिएको छ । हेटौडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाको उपस्थितिमा हेटौडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टलाई खानेपानी उपभोक्ता समितिका अध्यक्ष विश्वराज राईले खानेपानी समितिको सम्पूर्ण कागजपत्र हस्तान्तरण गरेका थिए ।
हेटौडा उपमहानगरपालिका मेयर मीना लामाको प्रमुख आतिथ्यता एवम खानेपानी उपभोक्ता समितिका अध्यक्ष विश्वराज राईको सभाध्यक्षतामा हस्तान्तरण कार्यक्रम भएको थियो ।
हस्तान्तरण कार्यक्रममा हेटौडा–६ का वडाध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, निवर्तमान वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई, खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटा, बोर्ड सदस्य कृष्ण धिताल, ईन्द्र नेपाल, पूर्व वडा सदस्य रामहरि राई, सञ्चारकर्मी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।
उपमहानगरपालिकाको १९ वडा मध्ये हाल १६ वटा वडाहरुमा खानेपानीको सेवा विस्तार गरेको र १९ वटै वडाहरुमा सेवा विस्तार गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक सापकोटाले बताए । २३ हजार ३ सय सेवाग्राही रहेको बोर्डले दैनिक १ करोड ९० लाख लिटर पानी वितरण गरिरहेको अध्यक्ष प्रताप बिष्टले बताए ।
कल्याणटार खड्कुले खानेपानी उपभोक्ता समितिमा १ सय ४ जना सदस्य रहेको र हाल समितिमा ८० घरधुरी क्रियाशील रहेको उपभोक्ता समितिले जनाएको छ ।