मकवानपुर \ मानव निर्मित नेपालकै सबैभन्दा ठूलो ताल तथा जलाशययुक्त जलविद्युत् आयोजना कुलेखानीमा पानीको सतह अघिल्लो वर्षको तुलनामा यस वर्ष कम भरिएको छ । सुख्खायाममा अन्य जलविद्युत गृहमा पानीको मात्रा कम हुँदा कुलेखानी जलविद्युत गृह संचालनमा ल्याउने गरिन्छ ।
यसलाई नेपाल विद्युत् प्राधिकरणको ‘व्याकअप’ को रुपमा प्रयोग गरिँदै आएको छ । देशकै एक मात्र जलाशययुक्त जलविद्युत् आयोजना भएकाले कुलेखानीलाई अन्य आयोजनाको व्याकअपको रुपमा प्रयोग गर्ने गरिएको हो । गत वर्षको तुलनामा मुहान क्षेत्रमा पानी कम पर्दा कुलेखानी जलाशयमा यस वर्ष पानीको सतह कम भएको हो । जलाशयमा गत वर्ष यसै समयमा १ हजार ५१८ मिटर पानी मापन गरिएकोमा यस वर्ष १ हजार ५०७ दशमलव ५५ मिटर मात्र रहेको कुलेखानी जलविद्युत केन्द्रका प्रमुख धीरेन्द्र चौधरीले जानकारी दिए ।
जलाशयमा यस वर्ष गत वर्षको भन्दा पानीको सतह ११ मिटर कम रहेको छ । वर्षा अवधि बाँकी नै रहेकाले असोजसम्म जलाशयमा पानी भरिने सम्भावना रहेको चौधरीले बताए । ‘अघिल्लो वर्षको भन्दा यस वर्ष जलाशयमा पानीको सतह कम भरिएको छ । जलाधार क्षेत्रमा वर्षा कम हुँदा पानीको सतह कम भरिएको हो ।’ उनले भने, ‘अघिल्लो वर्ष यसै समयमा जलाशयमा समुद्र सतहबाट १ हजार ५ सय १८ मिटर मापन गरिएको थियाे भने यस वर्ष १ हजार ५०७ दशमलव ५५ मिटर मात्र पानी भरिएको छ ।’
अघिल्लो वर्ष असार महिनामै जलाधार क्षेत्रमा भारी वर्षा भएकाले जलाशयमा पानीको सतहमा उल्लेख्य वृद्धि भएको उनले बताए । यसवर्ष भने जलाधार क्षेत्रमा वर्षा कम भएका कारण जलाशयमा पानीको सतह पनि कम भएको चौधरीको भनाइ छ । उनका अनुसार गत २ दिनमा भएको वर्षाका कारण कुलेखानी जलाशयमा १० मिटर पानीको सतह बढेको छ । ‘साउनको अन्तिम हुँदा पनि भारी वर्षात् भएको छैन । गत २ दिनमा भएको वर्षको कारण जलाशयमा १० मिटर पानी भरिएको छ । लगातार २/४ दिन पानी पर्ने हो भने छिट्टो भरिन्छ,’ उनले भने ।
१ हजार ५ सय ३० मिटर उचाइसम्म पानी भण्डारण क्षमता भएको जलाशयमा गत वर्ष असोज महिनामा लाग्दा भरिएको थियो । गत वर्ष जलाशयमा पानी बढी भएर ओभर फ्लो समेत भएको थियो । जलाशयमा जम्मा भएको पानीलाई प्रयोग गरेर तीनवटा आयोजनाबाट कूल १ सय ६ मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । कुलेखानी जलाशयको पानीबाट पहिलो विद्युत गृहबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।
देशका अन्य जलविद्युत् स्टेसनहरूलाई समर्थन गर्नका लागि मात्र कुलेखानी जलविद्युत् आयोजना प्रयोग गरिने केन्द्रका प्रमुख चौधरीले बताए । ‘सुख्खा याममा अन्य हाइड्रोपावरहरूमा पानीको बहाव घट्ने र विद्युत उत्पादन बन्द हुँदा कुलेखानी जलाशयको पानीको प्रयोग गरेर विद्युत गृह संचालन गरिन्छ ।
अन्य विद्युत गृहको मेसिन बन्द भएर सञ्चालनमा आउन समस्या हुने भएकाले आवश्यक परेको खण्डमा मात्र कुलेखानी प्रयोगमा ल्याउने गरिएको छ ।’ उनले भने । उनका अनुसार हाल कुलेखानीबाट विद्युत उत्पादन गर्नुपर्ने अवस्था छैन ।-रातोपाटी