हेटौंडा \ हेटौंडामा शुक्रबारबाट ‘हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८०’ सुरु हुने भएको छ । विहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका निर्देशक समेत रहेका नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम बहादुर लामाले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए ।
उनले हेटौंडा ११ स्थित होटल स्मारकमा हुने प्रतियोगितामा स्विस लिग प्रणाली अन्तर्गत ९ खेल खेलाइने बताए । उनले प्रतियोगितामा देशभरबाट ९० जना खेलाडीहरुले सहभागिता जनाउने अनुमान रहेको जनाइएको छ ।
प्रतियोगिता जेठ २ गतेसम्म ५ दिन सञ्चालन प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघ, हेटौंडा चेस क्लब र नेपाल खेलकुद महासंघको संयुक्त आयोजना रहने जनाइएको छ । प्रतियोगिताको उपाधि विजेताले १ लाख नगद प्राप्त गर्ने छन् भने उप विजेताले ५० हजार नगद सहित ट्रफि प्राप्त गर्ने मकवानपुर जिल्ला बुद्धिचाल संघका जिल्ला अध्यक्ष मनोज श्रेष्ठले बताए । प्रतियोगतामा तेस्रो हुनेले २५ हजार रुपैयाँ तथा चौथो र पाँचौँ हुनेले २०/२० हजार नगद प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताए ।
यसैगरी, छैटौंदेखि दशौ स्थान हासिल गर्नेले नगद १५/१५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विद्यागत तर्फ उत्कृष्ट स्थानीयले १० हजार, उत्कृष्ट महिलाले १० हजार, उत्कृष्ट भेट्रान्स (५५ वर्ष उमेर समूह)ले १० हजार, उत्कृष्ट जुनियर (अन्डर १२, १४, १६ र १८) ४ जनाले १०/१० हजार प्राप्त गर्ने छन् ।
यसैगरी, उत्कृष्ट अन रेटेडलाई १० हजार र उत्कृष्ट रेटिङ बिलो (१८ सय, १६ सय र १४ सय भन्दा कम) भएका प्रत्यकले १०/१० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा उपाधि विजेतासहित २१ जनाले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिता सञ्चालनको लागि २० लाख २ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगितालाई हेटौंडा उपमहानगरले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बाँनियाले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।