हेटौंडा \ बागमती प्रदेश भित्र पर्ने १३ जिल्लामा संक्रामक विषाणुजन्य रोग लम्पी स्किन डिजिजबाट पहिलो चरणको तथ्याङ्कबाट १८ हजार ३२४ गाईहरुका सक्रमण भएको पाइएको छ । देशभर फैलिएको लम्पी स्किन रोग गाई र भैसीहरुमा देखा परेसँगै मृत्युहुनेको संख्या पनि बढ्दो क्रममा रहेको जनाइएको छ ।
बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेका अनुसार प्रदेशमा सबैभन्दा बढी मकवानपुरमा देखिएको बताउनुभयो । मकवानपुरमा चार हजार ८३५ वटा गाईहरुमा उक्त रोग देखा परेको छ भने १९७ वटा गाईको मृत्यु भएको डा. पाण्डेले बताउनुभयो । प्रदेशको सिन्धुली जिल्लामा नौ हजार ६३४ सक्रमण र ४७ को मृत्यु, रामेछापमा एक हजार ९६५, चितवनमा एक हजार ६० वटा गाईहरुमा उक्त रोगको सक्रमण भएको सचिव पाण्डेले बताउनुभयो । उहाँका अनुसार प्रदेशको रसुवा र दोलखाका रोग पुष्टि नभएकोले संक्रमित संख्या शुन्य रहेको छ भने धादिङको विवरण मन्त्रालयमा आइनसकेको बताउनुभयो ।
हाल सम्म गाईमा मात्र संक्रमण भएको र भैसीमा उक्त रोग संक्रमण नभएको सचिव पाण्डेले बताउनुभयो । काठमाडौंमा ८३, ललितपुरमा ४०, काभ्रेमा चार सय, नुवाकोटमा तीन सय, सिन्धुपाल्चोकमा ६ र भक्तपुरमा १ वटा गाईमा लम्पी स्किन रोग देखा परेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मकवानपुरको सबैभन्दा बढी मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका सहित अन्य पालिकाहरुमा संक्रमितहरु पाइएको छ । रोगबाट पशुमा हुने मृत्युदर कम (करिब ५ प्रतिशत) भए पनि दुहुना पशुहरुको दूध उत्पादनमा उल्लेख्य ह्रास (८० प्रतिशत सम्म) हुने भएकाले कृषकहरुलाई ठूलो आर्थिक क्षति पुगेको सचिव पाण्डेले बताउनुभयो ।
मन्त्रालयले रोग नियन्त्रण गर्न रोगको कारण, लक्षण, यसबाट कृषकहरुमा पुग्ने क्षति एवं नियन्त्रण र रोकथामका बारेमा कृषक र सबै सरोकारवालाहरुमाझ जनचेतना फैलाउनुका साथै रोगको जोखिमयुक्त क्षेत्रको पहिचान गरी खोप कार्यक्रम यथाशिघ्र सुरु गर्न जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुलाई निर्देशन दिई सकिएको सचिव पाण्डेले बताउनुभयो ।
हाल मकवानपुर जिल्लाको मकवानपुरगढी गा.पा वडामा नं ५ मा एक हजार पाँच सय डोज खोप लगाउने कार्य सञ्चालन भईरहेको छ र रोग ग्रस्त क्षेत्रमा गई तत्काल निःसंक्रमण, उपचार लगायतका नियन्त्रणका कार्यहरु सञ्चालन गर्न तत्काल रोग नियन्त्रण समिति बनाई कार्य अघि सारिएको उहाँले बताउनुभयो । उहाँका अनुसार रोग नियन्त्रण र रोकथाम कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले केही दिन भित्र नै लम्पी स्किन डिजिज् नियन्त्रण र रोकथाम रणनीति,२०८० तयार गरी कार्यान्वयन गर्ने तयारीमा मन्त्रालय रहेको बताउनुभयो ।