हेटौंडा \ स्थानीय सरकार, सरोकारवालाहरु र समुदायमा यौन स्वास्थ्य, यौनिक तथा लैङ्गिक अल्पसंख्यक सम्बन्धी अभिमुखीकरण कार्यक्रम हेटौडामा भएको छ । फ्रेण्डस हेटौडाको आयोजना तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा बिहिबार आयोजित अभिमुखीकरणमा बोल्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयका उपसचिव गोपाल प्रसाद कंडेलले सबैमा सामाजिक सुरक्षाको हक रहेको बताउदै यौनिक तथा अल्पसंख्यक समूदायका लागि क्षमता अभिवृद्धिका कार्यक्रमहरु ल्याउन प्रदेश सरकार लागी परेको बताउनु भयो ।
यो समुदायलाई हेर्ने दृष्टिकोण र अपमानजनक शब्द र व्यवहारको पुरातन कायमै रहेकोले नीतिगत तहबाटै यसलाई समाधान गर्न लागीपरेको बताउनु भयो । यौनिक तथा अल्पसंख्यक समूदायले आफनो पहिचान पाउन नसकिरहेको अवस्थामा बिस्तारै बिस्तारै खुल्दै आएको भन्दै यो समुदायको लागी प्रदेश सरकारले नीतिनै ल्याउन लागेको कारण कानुनी हिसाबले पनि बाटो खुल्ने बताउनु भयो । उहाँले यौनिक तथा अल्पसंख्यक समूदायका लागि राज्यको कुनै पनि तहमा कोटा प्रणालीमा पुग्ने वातावरणको लागी आफुहरुले भुमिका खेलिरहेको बताउनु भयो ।
कार्यक्रममा फ्रेण्डस् हेटौंडाका कार्यक्रम संयोजक किरण थापाले यौनिक तथा अल्पसख्यंक समूदायका लागि सरकार सबैको साझा अभिभावक बन्नुपर्नेमा जोड दिनु भयो । अहिले पनि बिभिन्न बाहानामा यौनिक तथा अल्पसख्यंक समूदायका समस्याहरु जिउँकातिउँ रहेकाले मन्त्रालयहरुमा यौनिक तथा अल्पसंख्यक समूदायका मुद्धा हेर्न सक्ने व्यवस्था ल्याउन जोड दिनु भयो । कार्यक्रममा यौनिक तथा लैगिङ अल्पसंख्यक महासंघ नेपालका संयोजक सिम्रन शेरचनले सरकारी तवरमा कार्यान्वयन पक्ष फितलो भएकाले हक अधिकारबाट बन्चित बन्नु परेको यर्थाथ अनुभवहरु राख्नु भएको थियो ।
उहाँले समलिङ्गी र तेश्रोलिङ्ग बीचको फरक रहेको बताउँदै नागरिकता र पहिचानको मुद्धालाई आफुहरुले जोडतोड उठाएपनि सरोकारवाला निकायले वास्ता नगरेको बताउनुभयो । आस्वासनले मात्र समस्या समाधान नहुने भन्दै उनले यौनिक तथा अल्पसख्यंक समूदायको लागी समान प्रतिनिधित्व रहनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागी सरोकारवालाहरुले बुझाईको कमीले पनि बिभिन्न लाल्छानाहरु भईरहेको बताएका थिए । उनीहरुले यौनिक तथा अल्पसंख्यक समूदायका लागी स्वरोजगार बनाउन पनि बिभिन्न तालिमहरु प्रदान गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा बार एसोसियसन मकवानपुरका अध्यक्ष अप्सरा बस्नेतले यौनिक तथा अल्पसख्यंक समूदायका लागी राज्यले कानुन बनाएर कार्यान्वयनमा जोड दिन आग्रह गर्नभएको थियो । उहाँ ले सामाजिक न्यायको लागी यो समुदायलाई पनि समेटेर सरकारले ऐन बनाउन आव्हान गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, गैसस महासंघ मकवानपुरका अध्यक्ष रमिला ससापकोटा, सुरक्षा निकायका प्रतिनिधिहरु, मन्त्रालयका प्रतिनिधि लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो । फ्रेण्डस् हेटौंडाका अध्यक्ष भारती थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।