हेटौंडा \ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले किसानहरुलाई निरास नहुन आग्रह गर्नुभएको छ । हेटौंडामा बिहिबार आयोजीत पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजनाको प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वास्तविक किसानलाई समेट्दै प्रदेश सरकार अघि बढ्ने बताउनुभयो । उहाँले किसानहरु पछिल्लो समय कृषि क्षेत्रमा उत्साहित नभएको भन्दै किसान लक्षित कार्यक्रमहरु ल्याई पँहुचका आधारमा अनुदान पाउने प्रणालीलाई अन्त्य गर्ने आफुहरु लागी परेको बताउनु भयो ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले अबको दिनमा व्यक्तिगत फार्मलाई अनुदान नदिने र किसानलाई झंझटिलो हुने गरि तयार पारिएको कार्यविधिलाई परिवर्तन गरी सहजता प्रदान गर्ने बताउनु भयो । फलफुलमा हामी आत्मनिर्भर छैनौ, यस आयोजनाले अब आत्मनिर्भर बन्न सक्नेछौ मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो । कृषिजन्य उत्पादनमा ध्यान दिइनुपर्ने र बजारको व्यवस्थापन गर्न सकियो भने किसानमा उत्साहपन आउने जम्कट्टेलले भन्नुभयो । आयोजना तोकिएको स्थानीयतहलाई पकेट क्षेत्र नै बनाएर लैजान सुझाव दिदैं कृषिका नीति तथा कार्यक्रमका मोडेलहरु परिवर्तन गरि आगामी आवमा कार्यक्रमहरु ल्याउने तयारी गरेको समेत बताउनुभयो ।
कार्यक्रममा पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास केन्द्रीय आयोजनाका निर्देशक राजेन्द्र कोइरालाले नेपालको पाँचप्रदेशका एक सय स्थानीयतहरुमा काष्टफल तथा फलफुल विकासका कामहरु सुरु गरिन लागिएको बताउनुभयो । उहाँले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता, विश्व कृषिखाद्य सुरक्षा कार्यक्रमको अनुदान सहायता तथा नेपाल सरकारको संयुक्त लगानीमा सन् २०२२ देखी २०२९ सम्म काष्ठफल तथा फलफुल विकास आयोजना आव २०७९/८० मा कार्यान्वयनमा आएको बताउनुभयो ।
बागमती प्रदेशमा सिन्धुपाल्चोकको तीनवटा, नुवाकोटको २ वटा र धादिङको तीनवटा गरी ८ वटा पालिकामा यस आयोजना लागु गर्ने तयारी रहेको बताउनुभयो । उक्त परियोजना कार्यान्वयन गर्न १२ अर्व ५५ करोड लगानी रहने बताउँदै निर्देशक कोइराला भन्नुहुन्छः जलवायु अनुकुल बागवानीजन्य उत्पादनमा आधारित लाभग्राही कृषक घरपरिवारको कृषिमा आय दश प्रतिशत वृद्धिहुने बताउनुभयो ।
काष्टफल अन्तरगत सुन्तला, स्याउ, ओखर, किबी, एभोकाडो, जुनार, चुच्चे ओखर, मेकाडेमियानट, पिकानट, कागतीलगायतको उत्पादन गरिने निर्देशक कोइरालाले बताउनुभयो । मध्यपहाडी लोकमार्ग लक्षित गरी स्थानीय तहहरु छनौट गरी आयोजनालाई लक्ष्यमा पु¥याउन आयोजनाको प्रभाव, उपलब्धी र त्यसको प्रतिफलमा रहेर कार्यविधि बनाउने तयारी रहेको बताउनुभयो ।
१० हजार हेक्टर क्षेत्रमा यस आयोजनालाई कार्यान्वयन गर्दा लाभग्राहीमा वित्तीय संस्थाहरु, उद्यमी÷कृषक समूह/सहकारी, कृषिउद्यमी तथा सेवाप्रदायकहरु, स्थानीयतह/ प्रदेश तह र नीजि नर्सरीहरु रहने जनाइएको छ । आयोजनाको समग्र रुपरेखा नै गुणस्तरीय विरुवा व्यवस्थापन, कृषकको क्षमता विकास, उत्पादनको मुल्य श्रृङ्खला विकास, उत्पादन र उत्पादकत्व वृद्धि रहेको निर्देशक कोइरालाले बताउनुभयो ।
प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम कृषि निर्देशनालयका निमित्त निर्देशक एंव काष्ठफल तथा फलफुल विकास आयोजना बागमती प्रदेशका निर्देशक तेजप्रसाद दुवाडी लगायत कृषि क्षेत्र सँग जोडिएका कार्यालयका प्रमुख, किसान महासंघका केन्द्रीय अध्यक्ष महानन्द सापकोटा, युवा कृषकहरु तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।