हेटौंडा \ बागमती प्रदेशको दोस्रो प्रदेश खेलकुद प्रतियोगिताको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका छन् । आइतबार साँझ हेटौंडा-५ पिप्ले क्याम्पा रंगशालामा हजारौंको संख्यामा खेलाडी तथा खेलप्रेमीहरुको उपस्थितीमा उनले प्रतियोगिताको विधिवत् रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा निर्णायकहरुको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले ओलम्पियन खेलाडीहरुलाई ओलम्पियसन टर्च बालेर हस्तान्तरण गरेका थिए । टर्च बालेर ओलम्पियन खेलाडीहरु खेल मैदान परिक्रममा गरेका थिए । कार्यक्रममा चर्चित गायिका रचना रिमाल, बाल गायक जेनिस उप्रेती लगायत कलाकारहरुको सांगितिक प्रस्तुती समेत गरेका थिए ।
प्रतियोगिताको उसु, जुडो खेल काठमाण्डौमा हुनेछ भने पौडी खेल ललितपुरमा र क्रिकेट खेल चितवनमा हुने प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले बताए । प्रतियोगिताका फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कँराते, बक्सिङ, रग्वी, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो खेलहरु भने हेटौंडाका विभिन्न खेल मैदानमा हुने जनाइएको छ ।
प्रतियोगितामा विभिन्न बिधाका एक हजार ७५ महिला, एक हजार ४ सय २७ पुरुष खेलाडीहरुको सहभागीता रहने छन् भने १ सय ७३ जना प्रशिक्षक एक सय ४२ जना व्यवस्थापक, दुई सय ७६ जना निर्णायकको सहभागीता रहेको छ । सम्पूर्ण खेल आयोजना गर्न सरकारले करिब नौ करोड ४२ लाख रुपैयाँ खर्च गर्न लागेको हो ।
सामाजिक विकास मन्त्री कुमारी मोक्तानको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, स्थानीय तहका प्रमुखहरु, ओलम्पियन खेलाडी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।
उद्घाटन पूर्व विभिन्न झाँकी सहित मार्चपास गरिएको थियो भने प्रहरीले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।