हेटौडा \ विपदबाट हुन सक्ने क्षतिको न्यूनिकरणको लागि पूर्व तयारी स्वरुप सशस्त्र प्रहरी बल नेपाल नं १४ गण मकवानपुरद्वारा डेमो प्रदर्शन गरेको छ । सोमबार हेटौडा ११ स्थित राप्तीखोलामा रहेको झोलुङ्गे पुल मुनि विपद्ले पु¥याउने क्षतिलाई न्यूनिकरण गर्न सकिने उपायहरुका लागी जल विपद् उद्धार सम्बन्धी अभ्यासहरु प्रस्तुत गरीएको थियो । प्रकोप पश्चात उद्धार सुरक्षकर्मीहरुको भुमिका कस्तो रहने र सुचना प्रवाहमा कसरी ध्यान दिने भन्ने कुरा सशस्त्र प्रहरीहरुद्धारा अभ्यास प्रस्तुत गरीएको थियो ।
अभ्यास पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै हेटौडा उपमहानगरका प्रमुख मीना कुमारी लामाले विपद्को बेलामा हतोत्साहित नभईकन स्थानीय श्रोत साधनको सही तरिकाले उपभोग गर्न सकेमा आफु सुरक्षित रहनुका साथै समुदायका अन्य व्यक्तिहरुलाई समेत सोही विधिको प्रयोगद्वारा सुरक्षित पार्न सकिने सन्देश दिन यस्ता अभ्यासहरुले चेतना फैलाउने बताउनु भयो ।
उहाँले विपदबाट बचाउने प्राबिधिक सामाग्रीहरु खरिदका लागी उपमहानगरले थालनी गरीसकेको बताउदै विपद् आउनुपुर्वनै यसबाट सचेत रहन नागरिकहरुलाई आग्रह गर्नु भयो । सशस्त्र प्रहरी बलले हेटौडामा बिभिन्न समयमा आईपरेका विपदका घट्नामा खेलेको भुमिकाबारे प्रंशसा गर्दै उपमहानगर हरेक कार्यमा सहयोग गर्न तयारी रहेको बताउनु भयो ।
यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव गैडाले सशस्त्र प्रहरीद्धारा सचेतनाका लागी विपदबाट बच्न देखाईएको प्रत्यक्ष अभ्यासले पनि जनधन क्षतिहुनबाट कम हुने बताउनु भयो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले विपदका बेला सबैभन्दा पहिला मानवीय क्षतिबाट बच्ने उपायहरु अवलम्बन गर्न यस्ता अभ्यासहरुले सहयोग पुग्ने बताउनु भयो । जोखिमका बेला आत्तिएर भन्दा पनि आफै चनाखो भएर सुरक्षा निकायको सहयोग लिन तर्फ लाग्न जोड दिनु भयो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं १४ गण हेडक्वाटर मकवानपुरका गणपति अनिल कार्कीले सशस्त्र प्रहरी बल नेपालको स्थापनाकाल देखि नै विभिन्न किसिमका प्रकोपहरू भुकम्प, सडक दुर्घटना, बाढीपहिरो, आगलागी जस्ता मानवीय तथा प्रकृतिक प्रकोपहरुमा उद्धार कार्य तथा जोखिम न्यूनीकरणका लागीे काम गर्दै आएको बताउनु भयो । नेपालमा वर्षेनी जल उत्पन्न प्रकोपकै कारण धेरै जनधनको क्षति हुने गरेको बताउदै गणपती कार्कीले कुनै पनि विपद् र विपद्सँग सम्बन्धित जनचेतना अभिवृद्धि तथा विपद् पश्चात तत्काल उद्धार कार्य गर्न सक्षम, कुशल एवं तालीम प्राप्त दक्ष जनशक्ति उत्पादनका साथ साथै विभिन्न किसिमका प्रकोपका घटनाहरुबाट जनधनको क्षतिबाट बचाउन सचेतना सहित यो कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।
अभ्यासमा उद्वारकहरुले पानी जन्य विषद् बाट बच्नको लागि स्थानिय स्तरमा प्राप्त हुने स्रोत साधनहरुवाट विभिन्न उपकरणहरु तयार पारी प्रदर्शन गरेका थिए । विपदबाट बच्न प्लाष्टिकको बोतललाई मालामा जोडेर कम्मरमा बाँधी पानिमा सजिलैसंग तैरिन सकिने, केराको थामलाई काठ तथा डोरीको सहायताले एक अर्कामा जोडेर प्रयोग गर्न सकिे,घरमा रहेको म्याट्रेसलाई सही तरिकाले प्रयोग गरी नदी तथा तलाउमा पौडीकला नभएका व्यक्तिहरु पनि सजिलैसंग पानीमा तैरिन सकिने लगाएतका प्रयोगहरु देखाईएको थियो ।
कार्यक्रममा नेपाली सेना गोरखबहादुर गणका गणपति गोविन्दराज घिमिरे, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतम, राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय मकवानपुरका उपअनुसन्धान निर्देशक पप्पू शर्मा पौडेल, विभिन्न वडाका वडा अध्यक्षहरु, बिभिन्न संघ संस्था, क्लब तथा टोल विकास संस्थाका प्रतिनिधिहरु,विभिन्न विद्यालयबाट पाल्नु भएका शिक्षक एवं विद्यार्थीहरु तथा स्थानीय बासिन्दाहरुले कार्यक्रम अवलोकन गर्नु भएको थियो ।