मकवानपुरगढी \ बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले पर्यटन क्षेत्रलाई विकास गर्न तर्फ आफु तत्पर रहेको बताएका छन् । सोमबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ रानीसेरामा रहेको निर्माणधिन रानीबास एग्रो टुरिजम पार्कमा स्वागतद्धार निर्माणको शिलान्यास गर्दै मन्त्री लामाले पर्यटन क्षेत्रलाई विकास र विस्तार गर्न प्रदेश सरकार तयार रहेको बताएका हुन् ।
पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय अन्तरगत पर्यटन विकास आयोजनाबाट विनियोजित बजेटलाई समयमै कार्यान्वयन गरि थप पार्क निर्माणका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष गणेश बहादुर स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा मन्त्री लामाको प्रमुख आतिथ्यता रहेको थियो । पर्यटन विकास आयोजनाबाट स्वीकृत रकम पार्कको मुल स्वागतद्धार निर्माणका साथै पार्कलाई १४८ मिटर घेराबारा गर्न १० लाख रुपैयाँ छुट्टिएको थियो । गाउँपालिकाको बहुवर्षिय योजना अनुरुप विभिन्न समयमा बजेटबाट पार्कको सुरुवात गरिएको वडा नम्बर १ का वडा अध्यक्ष आइत सिं लोले बताए ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, पर्यटन विकास आयोजनाका प्रमुख रोशन कुमार श्रीवास्तव, सिनियर विशेषज्ञ ईन्जिनियर विजय कार्की, प्रज्ञा पाण्डे, वडा नम्बर ७ का वडा अध्यक्ष सुर्य बहादुर रुम्बा, नेपाली कांग्रेस जिल्ला सदस्य राजकुमार गोले, निवर्तमान क्षेत्र २ का संघीय सभापति यतिराज सापकोटा, गाउँपालिका सभापति राजवीर मोक्तान, कोषाध्यक्ष आकाश कुमार गोले, रानीसेरा माविका प्रअ सुन्दर लामा लो लगायतको आतिथ्यता रहेको थियो ।