मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा गत शुक्रबार साँझ आएको असिनाले पु¥याएको क्षतिको विवरण वडा तहले संकलन गर्ने कार्य भइरहेको छ । पालिकाको वडा नम्बर ५,६ र ७ को माथिल्लो भेगमा परेको असिनाका कारण बारीका मकै, टनेलभित्रका तरकारी र घरगोठहरुका जस्तापातामा क्षति भएको थियो ।
हावाहुरीका साथ आएको असिनाले घरगोठको जस्तापातालाई पूर्ण रुपमा क्षति पुगेकोले स्थानीयहरुले राहतको आस गरेका छन् । असिनाले गर्दा पूर्ण रुपमा क्षति पुगेको करिब ४ सय भन्दा बढी रहेको वडा नम्बर ५ का वडा अध्यक्ष एंव गाउँपालिका प्रवक्ता दिपेश दाहालले बताउनुभयो ।
मेरो वडाको देउराली, जोगीडाँडा, लिङ्गेडाँडा, नयाँगाउँ, चुवारपाखा लगायतका क्षेत्रहरुमा बारीमा लगाईएको मकै, टनेलभित्रका तरकारी पूर्ण रुपमा नष्ट भएको छ, वडाध्यक्ष दाहालले बताउनुभयो ।
उहाँ भन्नुहुन्छः बाली त नष्ट भयो नै हजारौं संख्यामा स्थानीयहरुको घरगोठको जस्तापातानै प्वाल परेका छन् । पुरै डाँडा नै मकैबाली नष्ट भएको छ ।
मकवानपुरगढीको ५,६,७ का माथिल्लो क्षेत्रहरुमा असिनाका कारण बढी क्षति भएको छ । हामीले टोल विकास मार्फत क्षतिको लगत विवरण माग गरेका छौं, मकै लगाउने किसानलाई तत्काल मकैको वीऊ, तरकारीका वीऊहरु पनि दिने वडाको तयारी रहेको वडाध्यक्ष दाहालले भन्नुभयो ।
गाईवस्तुमा पनि लम्पी रोगले दुध उत्पादन घट्यो, टनेलभित्रका तरकारी पूर्ण क्षति भयो, यता बारीको मकै सत्यनाश भयो अब कसरी जिविकोपार्जन गर्ने जीतबहादुर स्याङ्तानले गुनासो पोख्नुभयो । हामीलाई छिटोभन्दा छिटो राहतको आवश्यक छ, वडा,पालिकाबाट हुन्छ की प्रदेश सरकारबाट हुन्छ छिटोगर्न उहाँले आग्रह गर्नुभएको छ ।
असिनाले क्षति गरेको अवस्था बुझ्न चुवारपाखामा पुग्नु भएका गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले स्थानीयहरुलाई पालिका, प्रदेश र संघीयबाट हुनसक्ने राहतको लागि आवश्यक समन्वय गर्ने बतानुभयो । हामीले क्षति भएको अनुगमन गर्यौ, साच्चिकै किसानहरु मारमा छन् तत्काल मकै छर्नेले मकैको वीउ दिने, टनेलका लागि केही थान प्लाष्टिक दिने तयारी हामी गर्दछौं अध्यक्ष स्याङ्तानले भन्नुभयो ।
वर्षातको समय भएकाले छानाहरु सबै क्षतविक्षत अवस्थामा रहेकाले घरमा बस्ने अवस्था नरहेको स्थानीयहरु बताउनुहुन्छ । वडाले क्षतिको विवरण मागेको छ्, हामी दिन्छौ तर छिटो राहत पाउँन पाए बालबच्चा, बुढापाकाहरुलाई घामपानीबाट जोगाउन सजिलो हुने भनी स्थानीयहरुले दुखेसो पोख्नुभएको छ ।