हेटौंडा \ बागमती प्रदेश सरकारले युवा वैज्ञानिक प्रोत्साहन कोष सञ्चालनका लागि ऐन बनाउने भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कोष अहिले कार्यविधिमा रहेर सञ्चालन भइरहेको छ अब ऐन निर्माण गरी सञ्चालन गरिने बताउनुभयो । विहीबार कोषद्धारा सञ्चालित पाँचवटा आयोजनाको उपलब्धी सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले ऐन निर्माण गरी आगामी दिनहरुमा पनि नयाँ प्रविधि प्रयोग गर्न युवा वैज्ञानिक कोषलाई अघि बढाइने बताउनुभयो ।
नयाँ प्रविधि, अनुसन्धानलाई प्रयोग गर्नतर्फ सरकार तत्पर रहेको बताउँदै अनुसन्धान पश्चात मानव जीवनमा प्रयोग भएन भने अनुसन्धानको औतित्य नरहने बताउनुभयो । २० वर्ष पुरानो गाडी चल्न दिनु हुन्न भन्ने ऐनमा उल्लेख भएकाले अब ती पुराना गाडीहरु नष्ट गरि हाल्नु पर्छ भन्ने छैन त्यसलाई विद्युतीय प्रविधिमा चलाउन हाम्रा युवा वैज्ञानिकहरु तयार रहेका छन्ः मन्त्री जम्कट्टलले भन्नुभयो । कोष सञ्चालन गर्न ऐन तयार भएपछि हाम्रो अधिकार भित्र रहेर प्रदेश सरकार यी कार्यहरु गर्न समक्ष रहने बताउनुभयो ।
कोषमा रहेर पाँच वटा आयोजना सञ्चालन गरिएको थियो । जसमध्ये २ वटा सम्पन्न भएको र तीनवटा सम्पन्नको तयारीमा रहेको छ । सम्पन्न भएका आयोजनामा सफारी गाडीको विद्युतीय रुपान्तरण आयोजना र डेन्टल प्लेट सम्बन्धी आयोजना रहेको कोषका अध्यक्ष एंव सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताउनुभयो । अन्य तीनवटा आयोजनामा च्याउ (खरानी÷रातो)को विकास, फिस प्रोवायोटिक आयोजना र मेडिकल प्लान्ट अन्तरगत जडिबुटीबाट फाइटो केमिकल बारेको अनुसन्धान आयोजना रहेको बताउनुभयो ।
कार्यक्रममा विद्युतीय गाडी निर्माण गर्ने आयोजना प्रमुख ईन्जिनियर बसन्त आलेले अन्य गाडीको तुलानामा १० गुणा राम्रो रहेको बताउँदै पुराना गाडीहरुको सदुपयोग हुनाले यसका लागि चलाउनका लागि आवश्यक कानुनी व्यवधानहरु खुला गर्न सरकारलाई आग्रह गर्नुभएको छ । त्यस्तै, मेडिकल प्लान्ट आयोजनाका प्रमुख भूवन गुरुङले विरुवा÷जडिबुटीमा भएको औषधि गुण केमिकल बनाउन सकिने बताउनुभयो । हामीले नेपालका १७ सय भन्दा बढी विरुवाहरुबाट यसको प्रयोग गरिएको र सफल भएको बताउनुभयो ।
कार्यक्रम डेन्टल प्लेट आयोजनाका प्रमुख डा. प्रभाकर पराजुलीले नेचुरल दाँत जस्तै नक्कली दाँतका लागि हामी काम गर्न सक्ने बताउँनु भयो । हामीले गरेको अनुसन्धान राँगाको दाँतमा प्रयोग गराका हौं, सफल पनि भयौं अब हामीले सजिलै ३२ वटा देशहरुमा यसको प्रविधिको प्रयोग गर्न सक्छौं, डा. पराजुलीले भन्नुभयो । यस प्रविधिको नाम हामीले दंत्य निखन राखिएको बताउँदै डा. पराजुलीले मानिसमा यस प्रविधि प्रयोग गरी हाम्रो अनुसन्धान सफल बन्नेमा ठुक्क रहेको बताउनुभयो ।
प्रवेश पोखरेलको नेतृत्वमा च्याउको वीउ र प्रेम तिमल्सिनाको नेतृत्वमा फिस प्रोवायोटिक आयोजनाको काम गरिएको थियो । सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको एक कार्यक्रमकाबीच उक्त आयोजनाहरु सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्रदेशका मन्त्री, प्रमुख सचिव, मन्त्रालयका सचिवहरुको सहभागिता रहेको थियो