हेटौंडा \ बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मानव अधिकारका विषयमा प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २३ औं स्थापना दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले क्षेत्राधिकार भित्र रहेर मानव अधिकारका विषयमा काम गरिरहेको बताए ।
सरकार र सरकारी निकाय चनाखो हुनुपर्छ, नैसर्गिक अधिकार हनन भइरहेको छ कि भनेर सोचेर काम गर्नुपर्छ, मुख्यमन्त्री जम्कट्टेलले भने । हामी सबै मानव अधिकार मैत्री बन्नुपर्छ र संरक्षण गरेर अन्तरविरोधि हुने खालको कामहरुको अन्त्य गर्न लागिपर्ने जोड दिएका थिए ।
प्रदेशको भूगोल, जनजाति, भाषा, धर्म संस्कृति धेरै रहेकोले अधिकारका काम गर्न सहज छैन् समावेशी रुपमा काम गर्न नीतिमा केही समस्या छ त्यस बाहेक आर्थिक, सामाजिक, राजनीतिक लगायतमा सहजता भएपनि कार्यान्वयमा समस्या रहेको जम्कट्टलले बताए ।
हामीले व्यवस्था फेरिऔं, तर अवस्था फेर्न सकेनौं त्यसकारण काम गर्ने तौलतरिका फेर्नुपर्ने आजको आवश्यकता रहेको भन्दै मुख्यमन्त्रीले आपाङ्ग, महिला, दलित, अल्पसंख्यक, सीमान्तकृत समूदायको पहुँच नपुग्ने भएकाले उनीहरुको अधिकार हनन् भएको जस्तो लाग्छ उनीहरुको अधिकारलाई सुनिश्चित गर्न सबै पक्ष लाग्नुपर्ने बताए ।
आयोगको प्रदेश कार्यालय प्रमुख यज्ञ प्रसाद अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव मुकुन्द प्रसाद निरौला, जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष अप्सरा बस्नेत, गैसस महासंघका अध्यक्ष रमिला सापकोटा, पत्रकार महासंघका अध्यक्ष मणिराज गौतम, सुरक्षा निकायका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।