हेटौंडा \ बागमती प्रदेश सभामा आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आव २०८०/८१ का नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
३१ बुँदामा प्रस्तुत गरिएको नीति कार्यक्रमहरु शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, रोजगार, खानेपानी, सिंचाईका विषय प्राथमिकतामा रहेका छन् । नीति कार्यक्रममा युवा लक्षित कार्यक्रम,स्वारोजगार हुने किसिमका सीप मुलक तालिम लगातय पर्यटन, जात धर्म,भाषाका क्षेत्रमा विभिन्न कार्यक्रमहरु समेटिएको छ ।
प्रदेश सरकारले सन् २०२४लाई बागमती प्रदेश भ्रमण वर्षको रुपमा लैजानुका साथै किसानलाई परिचय पत्र कार्यक्रम ल्याएको छ । बाल विवाह र सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश बनाउन सरकारले नीति कार्यक्रम ल्याएको छ ।
त्यस्तै, पुँजी निर्माण, उत्पादकत्व र उत्पादन अभिवृद्धि तथा रोजगारीको अवसर सिर्जनाका लागि लगानी केन्द्रित गर्ने नीति लिइने जनाएको छ । योजना तथा कार्यक्रमको न्यूनतम लागत निर्धारण गरी सोभन्दा कमका आयोजनाहरु स्थानीय तहमा पठाइने नीति सरकारको छ ।
मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम, एक विद्यालय एक नर्स कार्यक्रम, एक प्रदेश निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल उत्पादन केन्द्र स्थापना गर्ने लक्ष्य पनि प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।