हेटौंडा \ बागमती प्रदेश सरकारले १६ औ गणतन्त्र दिवस २०८० का अवसरमा प्रदेशका ६ पत्रकारहरुलाई सम्मान र ६ पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । गणतन्त्र दिवस बागमती प्रदेश मुल समारोह समितिले सोमबार मुख्यमन्त्री कार्यलयमा आयोजना गरेको विषेश समारोहमा प्रदेशमा पत्रकारिता मार्फत क्रियाशील रही समाजको बहुआयामिक विकासमा टेवा पुर्याएको भन्दै पत्रकारहरुलाई सम्मान गरीएको हो ।
अग्रज पत्रकार सम्मानबाट काठमाण्डौका सुरेश कसजु, विकाश पत्रकारिताबाट चितवनका पत्रकार अनिल ढकाल, ग्रामिण पत्रकारिता पुरस्कारबाट मकवानपुरका पत्रकार शिव कुमार रिजाल, प्रदेश गौरव पत्रकारिता पुरस्कारबाट नुवाकोटका पत्रकार शक्तिमाया तामाङ्ग, प्रदेश युवा पत्रकारिताबाट पत्रकार विक्रम रत्न लाई जनही २० हजारका दरले सम्मानपत्र सहित प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्मान गर्नु भएको हो ।
कार्यक्रममा मुख्यमन्त्री शालिकराम जम्कटेलको अध्यक्षता रहेको थियो भने प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यता रहेको थियो । सोही अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले बागमती प्रदेशमा क्रियाशिल लेखक तथा पत्रकारहरुलाई खुल्ला लेख प्रतियोगितामा सहभागी हुन सुचना आव्हान गरे अनुसार गणतन्त्रको १५ वर्षः अवसर र चुनौती विषयमा खुल्ला लेख प्रतियोगितामा विजयी पत्रकारहरुलाई समेत पुरस्कृत गरीएको थियो ।
जसमा प्रथम हुने सुरेन्द्र कार्की, द्धितीयहुने,सुनिता विष्ट, प्रेमकला पौडेल र तृतीयहुने फणिन्द्र फुयाँल, अनिष मिजाँर, शिवराज योगी लाई क्रमसः १५ हजार, दश÷दश हजार र पाँच हजार नगद सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत र सम्मानितलाई बधाई दिदै प्रदेश प्रमुख शर्माले नेपाली जनता सार्वभौम सत्ता सम्पन्न भएमा लोकतान्त्रिक मूल्य मान्यताका आधारमा मौलिक अधिकारको सुनिश्चित हुनेमा जोड दिनु भयो ।
उहाँले गणतन्त्र स्थापना पश्चात परम्परागत राजतन्त्र, एक दलीय पंचायती व्यवस्था र एकात्मक राजकीय प्रणालीको अन्त्य भएका बताउनु भयो । यस्तै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गणतन्त्र दिवसले राष्ट्रिय एकतालाई अझ सुदृढ गर्नेमा जोड दिनु भयो । उहाँले गणतन्त्र दिवशले समुन्नत प्रदेश निर्माणमा अघि बढ्ने प्रेरणा प्रदान गर्ने समेत बताउनु भयो ।