हेटौंडा \ गैर सरकारी संस्था (गैसस) महासंघ मकवानपुरले गणतन्त्र दिवसका अवसर पारेर जनआन्दोलका घाईते गोर्कण तिवारीलाई सम्मान गरेको छ । गत शनिबार देखी गैससले आयोजना गरेको युवा लक्षित लैङ्गिक हिंसा र साईबर क्राईम न्युनिकरण तथा तनाव व्यवस्थापन सम्बन्धी तीन दिने तालिमको समापन तथा १६ औ गणतन्त्र दिवसका अवसरपारे तिवारीलाई स्वास्थ्य लाभको कामना सहित सम्मान गरीएको हो । प्रदेश युवा परिषद, बागमती प्रदेश हेटौंडाको सहयोगमा आयोजना गरिएको कार्यक्रममा मकवानपुरका ज्युँदा सहिद भनेर चिनिने तिवारीलाई सम्मान गरीएको गैसस मकवानपुर अध्यक्ष रमिला सापकोटाले बताउनु भयो ।
आज तामझामका साथ गणतन्त्र दिवस मनाई रहदा जनआन्दोलनमा गोली खाएर घाईते भएका तिवारीलाई कसैले नसम्झेको भन्दै गैससले सम्मान गरेको सापकोटाले बताउनु भयो । तिवारीलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) दीपक रेग्मी, प्रदेश युवा परिषद, बागमती प्रदेशका उपाध्यक्ष सन्तोष चौलागाई, लगाएतले खादा ओडाएर सम्मान पत्रले सम्मान गर्नु भयो । आफुलाई यो दिन संझेर सम्मान गरेकोमा तिवारीले गैससलाई धन्यवाद दिएका छन् ।
यस्तै कार्यक्रममा युवा लक्षित लैङ्गिक हिंसा र साईबर क्राईम न्युनिकरण तथा तनाव व्यवस्थापन सम्बन्धी तीन दिने तालिममा सहभागीहरुलाई सहभागी प्रमाणपत्र प्रदान गरीएको थियो । कार्यक्रममा ओम शान्तिका डा. विजय सिग्देल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्की, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रतिनिधी लगायतले सहजिकरण गर्नु भएको महासंघका अध्यक्ष सापकोटाले बताउनु भयो । कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल नर्सिङ संघ, राष्ट्रिय अपाङ्ग महासंघ, नागरिक संघसंस्थाका प्रतिनिधी, श्रमिक, युवा, विद्यार्थीसहित ७५ जनाको सहभागिता रहेको थियो ।