भीमफेदी \ नेपाली कांग्रेसको वडा, गाउँपालिका, क्षेत्र, संघीय, जिल्ला र प्रदेशको सम्मेलन गर्ने केन्द्रीय परिपत्र बमोजिम नेपाली कांग्रेस भीमफेदी गाउँपालिकास्तरीय सम्मेलन भएको छ । कांग्रेस भीमफेदी गाउँपालिकाका सभापति सञ्जिव श्रेष्ठको सभाध्यक्षता एवं कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सोमबार भैसेमा गाउँपालिकास्तरीय सम्मेलन भएको हो ।
सम्मेलनमा बोल्दै नेता बानियाँले कांग्रेसले जनताको बलमा पटक/पटक संघर्ष र योगदान गरेर ब्यवस्था परिवर्तन भैसकेकोले अब पार्टीको संगठन सुदृढीकरण गर्दै जनताको अबस्था परिवर्तनमा लाग्न कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।
सम्मेलनमा गाउँपालिकाका वडासभापति, जनप्रतिनिधि, स्थानीय नेता तथा कार्यकर्ता पंक्तिबाट उठेका जिज्ञासाको जवाफ दिंदै नेता बानियाँले विगतमा नमिलेको असन्तुष्ट मनहरु मिलाएर कांग्रेसले स्थानीयस्तरमा गरेका विकासनिर्माण र जनताको पक्षमा गरेका कामकार्वाहीको बारेमा जनतालाई बुझाउँदै तिव्ररुपमा संगठन विस्तारमा लागि पार्टी र जनताको अवस्था सुदृढ बनाउन निर्देशन दिनुभयो ।
कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्य जानकी लामा, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, जिल्ला उपसभापति आनन्द कठायत, जिल्ला सदस्यद्वय आनन्द पराजुली र गोपी लामा, मकवानपुर क्षेत्र नम्बर २ ख का प्रदेश सभापति खड्ग गोपाली, कांग्रेस नेताद्वय यतिराज सापकोटा र नारायणबहादुर थापा, कांग्रेस भीमफेदी गाउँपालिका सचिव सुमित्रा थिङ्ग, तरुण दल भीमफेदी सचिव रमेश थिङ्गलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।