हेटौंडा \ मानव सेवा आश्रम केन्द्रीय कार्यालय हेटौंडाले एक हजार ५१६ जना सडकपेटी एंव सार्वजनिक स्थलहरुमा जीवनव्यतित गरिरहेका मानिसहरुको उद्धार गरेको छ । जसमा ९८४ जना पुरुष र ५३२ जना महिला रहेका छन् र
मंगलबार आश्रममा पत्रकार सम्मेलन गर्दै आश्रमले ७७८ जनालाई पारिवारिक पुनर्मिलन गराएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । आश्रममा हाल सम्म सेवा लिदाँलिदै १७५ जनाले ज्यान गुमाएका छन् भने ३९३ जनाले अल्पकालीन सेवा लिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
आश्रमबाट ४४ जनाले सामुदायिक पुर्नस्थापना भई स्वावलम्बी जीवन निर्वाह गरिरहेका छन् भने २९ जनालाई पुनः उद्धार गरिएको छ । आश्रममा हाल २१५ जना आश्रित रहेका छन् भने १९ जनाको स्थानान्तरण गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
घरपरिवार र आफन्त विहिन भई सार्वजनिक स्थलहरु वृद्धवृद्धा र मानसिक रुपमा विक्षिप्त भई सडक आश्रित बनेका मानिसहरुलाई आश्रमले सेवा दिइरहेको छ । आव ०७८/०७९ मा हेटौंडा केन्द्रीय कार्यालयबार ९९ जनाको उद्धार, ७६ जनाको पारिवारिक पुर्नमिलन, ४६ जनाले अल्पकालीन सेवा लिएका, एक जना सेवा पश्चात स्वावलम्बी जीवन निर्वाह गरिरहेका र १५ जनाको पुनः उद्धार गरिरहेको अध्यक्ष अधिकारीले बताउनुभयो । नेपालभरमा ८ हजार भन्दा बढीको उद्धार गरिसकेको जनाइएको छ ।
बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक बिहीन, मानसिक तथा शारिरीक रुपमा कमजोर, सडक आश्रित मानवहरुको उद्धार एंव सेवा गर्ने उद्देश्यका साथ मानवता प्रर्वद्धन महाअभियान लागेको आश्रम ०६९ सालमा हेटौंडामा स्थापना भएको थियो । मानव सेवा आश्रमको सेवालाई दीगो बनाउन ३६५ जना आजिवन वार्षिक भोजन सेवा निर्माण गर्न लक्ष्यका साथ अघि बढिरहेको यस आश्रममा आश्रितहरुको नियमित स्वास्थ्य परिक्षण देखी सम्पूर्ण सेवा आश्रमले गर्दै आइरहेको छ ।
आश्रम नेपालका १९ जिल्लामा २३ सेवाकेन्द्रहरु सञ्चालनमा ल्याएको छ । ०७५ मा सहयोगापेक्षी सडकआश्रित मानवयुक्त मकवानपुर जिल्ला घोषणा गरेको छ भने बागमती प्रदेशलाई यस वर्ष घोषणा गर्ने तयारी रहेको अध्यक्ष अधिकारीले बताउनुभयो । हामीले गण्डकी र कर्णाली प्रदेशलाई घोषित गरिसकेका छौं, अब यस प्रदेशलाई यसैवर्ष घोषणाको तयारी रहेको अधिकारीले बताउनुभयो । नेपाललाई भने २०८२ साल श्रावण भित्र सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य रहेको अध्यक्ष अधिकारीले बताउनुभयो । संयुक्त राष्ट्र संघले प्रदान गर्ने सन् २०२३ को संयुक्त राष्ट्र संघ मानव अधिकार पुरस्कार मनोनयनका लागि नेपाल सरकारले मानव सेवा आश्रमलाई सिफारिस गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो भने हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँ र सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माको विशेष आतिथ्यता रहेको थियो ।