बागमती प्रदेश स्तरिय अपराध अनुसन्धान गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवं बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा भएको “बागमती प्रदेश स्तरिय अपराध अनुसन्धान गोष्ठी एक कार्यक्रमवीच सम्पन्न भएको हो ।
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय कृष्ण प्रसाद शर्मा खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र त्यसलाई समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने, बागमती प्रदेश भित्रका अपराध अनुसन्धान गर्ने ईकाईहरुको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु वीचको अधिकतम परिचालन एवं अन्तरकार्यालयवीच समन्वयको विकास गर्नु रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री खनालले पछिल्लो समय अपराधिक प्रवृत्तिमा परिवर्तन हुँदै गईरहेकोले अनुसन्धान अधिकृतको क्षमता विकास एवं प्रविधिमुलक अपराध अनुसन्धानका निमित्त अनुसन्धानमा प्रयोग हुने स्रोत साधनको व्यवस्थापनमा जोड दिनु भयो ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता माननीय श्याम नारायण श्रेष्ठले पछिल्लो समय अपराधको टेन्डमा परिवर्तन र यसको क्षेत्र फैलिदै गईरहेकोले प्रहरीलाई थप चुनौति थपिएको हुँदा प्रहरीले समेत आफुलाई सोही अनुसार तयारी अवस्थामा राख्नुपर्ने बताउनु भयो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी उत्तमराज सुवेदीले अपराध अनुसन्धान गर्ने तल्लो ईकाईमा बास्तविक अनुसन्धानमा देखिएका समस्याको बारेमा जानकारी लिने र समस्या समाधानमा कोशेढुंगाको रुपमा यस गोष्ठी रहनेछ भन्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्यले अपराध गर्ने बदलिदो शैली एवं आवरण, फैलदो अपराधिक संजालको प्रहरीले प्रविधिमुलक अपराध अनुसन्धानमा जोड दिई अपराध अनुसन्धानमा प्रमुख तिन पिल्लरको रुपमा रहेको अनुसन्धान, अभियोजन र न्याय निरुपण एक आपसमा समन्वय सहकार्य मार्फत मात्र पिडितले न्याय र वास्तविक पिडकले सजाय पाउने कुरामा जोड दिनुभयो ।