हेटौडा \ बागमती प्रदेशको जनसंख्या ६१ लाख १६ हजार ८ सय ६६ पुगेको छ । बुधबार हेटौडामा आयोजित राष्ट्रिय तथ्याङ्क कार्यलय बागमती प्रदेशले आयोजना गरेको जनगणना २०७८ अन्तरगत प्रदेश स्तरीय नतिजा सार्वजनिक कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यलयका प्रमुख तथ्याङ्क अधिकृत राम प्रसाद थपलीयाले जनगणना २०७८ अनुसार प्रदेशको जनसंख्या सार्वजनिक गर्नु भएको थियो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थीतिमा भएको कार्यक्रममा बागमती प्रदेशमा पुरुषको संख्या ३० लाख ४८ हजार ६ सय ८४ र महिलाको संख्या ३० लाख ६८ हजार १ सय ८२ पुगेको तथ्याङ्क सार्वजनिक गरीएको हो । सार्वजनिक तथ्याङ्क अनुसार पुरुष ४९.८४ प्रतिशत र महिला ५०.१६ प्रतिशत रहेको छ । बागमती प्रदेशमा जनगणना २०७८ अनुसार पुरुष भन्दा महिलाको जनसंख्या बढी देखिन्छ । लैङ्गिक अनुपातमा प्रति सय महिलामा पुरुषको संख्या ९९.३६ रहेकोछ ।
गत २०६८ सालमा कुल जनसंख्या ५५ लाख २९ हजार ४ सय ५२ र लैङ्गिक अनुपात ९८.७७ थियो । जनगणना २०७८ अनुसार सात प्रदेश मध्ये सबै भन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत जनसंख्या रहेको छ । २०६८ सालको जनगणना अनुसार बागमती प्रदेशको परिवार संख्या १२ लाख ७० हजार ७ सय ९७ रहेकोमा हाल उक्त संख्या करिव २३.६ प्रतिशतले बढेर १५ लाख ७० हजार ९ सय २७ पुगेको छ ।
२०७८ सालको जनगणनामा बागमती प्रदेशको नगरपालिकाहरुको जनसंख्या ७.३ प्रतिशत रहेको छ भने गाउँपालिकाहरुको जनसंख्या २२.७ प्रतिशत रहेको छ । जिल्ला अनुसार जनसंख्या बागमती प्रदेशका १३ जिल्लाहरु मध्ये सबैभन्दा बढी जनसंख्या काठमाण्डौं जिल्लामा २० लाख ४१ हजार ५ सय ८७ जना र सबैभन्दा कम जनसंख्या रसुवा जिल्लामा ४६ हजार ६ सय ८९ जना रहेको छ ।
बागमती प्रदेशका १३ जिल्लाहरुमध्ये सबैभन्दा बढी लैङ्गिक अनुपात रसुवा जिल्लामा १०६.१० र सबैभन्दा कम लैङ्गिक अनुपात रामेछाप जिल्लामा ९०.३३ जनाको अक्सर बसोवास रहेको छ । जनघनत्व जनगणनाको नतिजा अनुसार जनघनत्व प्रति वर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या १९८ जना प्रतिवर्ग किलोमिटर रहेको छ । जुन २०६८ सालमा १८० मात्र थियो । भौगोलिक क्षेत्र अनुसार सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जनाप्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ ।
बागमती प्रदेशको जनघनत्व प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या ३०१ जना प्रति वर्ग किलोमिटर रहेको छ । जुन २०६८ को जनघनत्व बागमती प्रदेशमा सबैभन्दा धेरै जनघनत्व काठमाण्डौं जिल्लामा ५,१६९ जना प्रतिवर्ग किलोमिटर र सबै भन्दा कम रसुवा जिल्लामा ३० जना प्रति वर्ग किलोमिटर रहेको छ । तथ्याङ्कक सार्वजनिक पछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सामाजीक बिकाशमा पछि परेका स्थानिय तहहरु लाई विशेष कार्यक्रम ल्याउन प्रदेश सरकारको तयारी रहेको बताउनु भयो ।
मुख्यमन्त्री जम्कट्टेलले तथ्याङ्कले प्रदेश भरीका स्थानिय तहहरुमा योजना बनाउन सहज भएको बताउनु भयो । उहाँले योजना बनाउन तथ्याङ्क नभई नहुने हुदाँ सार्वजनिक जनगणनाको आधारमा यही तथ्याङ्कका आधारमा साक्षरता नभएको ठाउमा शिक्षाका कार्यक्रमहरु,स्वास्थ्य क्षेत्रबाट बन्चित भएका ठाँउहरुमा स्वास्थ्यका कार्यक्रमहरु ल्याउन सजिलो भएको बताउनु भयो ।
योजनाको आधार भनेकै तथ्याङ्क भएकाले रुवी भ्याली, दोरम्बा, शैलसिखर जस्ता पछाडी परेका क्षेत्रहरुमा बिशेष कार्यक्रम ल्याउने तयारीमा प्रदेश सरकार रहेको उहाँले बताउनु भयो । कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव मुकुन्द प्रसाद निरौला, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे,सुरक्षा निकायका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।