हेटौंडा \ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जातको आधारमा गरिने विभेद र विभाजन स्वीकार्य नहुने बताउनु भएको छ । बुधबार दलित महिला संघले सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा हेटौंडामा आयोजना गरेको न्याय, समानता र सम्मानका लागि दलित महिलाहरुको प्रदेशस्तरीय सम्मेलनमा सम्बोधन गर्दै उहाले छुवाछुत, भेदभाव, दमन र उत्पीडनको विषयमा कुनै सम्झौता गर्न नहुनेमा जोड दिनु भएको छ ।
सामन्ती कुप्रथाको अन्त्यका निम्ति ठूलो सामाजिक अभियान जरुरी रहेको बताउदै मुख्यमन्त्री जम्कट्टेलको भनाई थियो । ‘जातको आधारमा गरिने विभेद केही हदसम्म कम हुँदै गएको छ । समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था पनि प्राप्त गरेका छौं’, उहाले भन्नु भयो। यसको अन्त्यका लागि वर्गीय चेतना आवश्यक रहेकोमा उहाले जोड दिनु भयो । दलित समुदायको अधिकारका निम्ति बागमती प्रदेश सरकार सचेत रहेको मुख्यमन्त्री जम्कट्टेलले बताउनु भयो ।
यस्तै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले नेपाल जातीय भेदभावमुक्त भएपनि भेदभाव जारी नै रहनु दुःखद् पक्ष भएको धारणा राख्नु भयो । धार्मिक आडमा जातीय छुवाछुतका धेरै घटना भैरहेको उहाले बताउनु भयो । नेपालमा करिब ४० लाखको हाराहारीमा रहेका दलित समुदायमध्ये धेरैको साक्षरता अवस्था कमजोर रहेको उहाको भनाई थियो । जातीय व्यवस्था यथास्थितिवादी सोचको उपज भएको मन्त्री श्रेष्ठको भनाई थियो ।
नेपाल समाज मिलेर बसेको भन्ने नाममा दलित सधै पीडित भैरहेको उल्लेख गर्दै उहाले सोच बदल्नुपर्ने अवस्था आएको उहाले बताउनु भयो । बुधबारबाट सुरु भएको दलित महिलाहरुको प्रदेशस्तरीय सम्मेलन बिहीबारसम्म सञ्चालन हुने दलित महिला संघका केन्द्रिय अध्यक्ष कला स्वर्णकारले बताउनु भयो ।
उहाँले दलित समुदायको हकहितको लागी प्रदेश सरकारले नितिगत तह बाटै समस्य समाधान गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला अध्यक्ष पबित्रा बिकले कार्यक्रमका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालका मन्त्रीहरु , जिल्लामा रहेका पार्टी नेतृत्वहरुको सहभागिता रहेको थियो ।-